काठमाडौँ । देशकै लाइफलाइन नारायणघाट–मुग्लिन सडक खण्डको खहरे खोला नजिकै नयाँ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ । मुग्लिनबाट करिब ५५० मिटर नारायणघाटतर्फ (चेनेज ३५.१५०) रहेको पहाडी भूभागमा पहिरो खसेपछि प्राविधिक टोलीले अध्ययन गर्दा सो स्थानमा थप पहिरो खस्ने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको हो ।सडकमा नयाँ जोखिम सिर्जना भएसँगै सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधारण तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गत साउन १२ गते सोही स्थान (चेनेज ३५.१५०) मा अचानक ठुलो पहिरो खसेको थियो। पहाडबाट ठुला ढुङ्गा र माटो खसेका कारण सो दिन नारायणघाट–मुग्लिन सडक खण्ड एकै दिन तीन पटक गरी कुल ७ घण्टासम्म पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रुहरू सडकमै अलपत्र परेका थिए । डिभिजन सडक कार्यालय भरतपुरले २४सै घण्टा तैनाथ अवस्थामा राखेका आफ्ना उपकरणहरू र सोही क्षेत्रमा कार्यरत निर्माण व्यवसायीका हेभी इक्विपमेन्टहरूको प्रयोग गरी पहिरो पन्छाएर सवारी आवागमन सुचारु गराएको थियो ।कार्यालयका अनुसार यसअघि उक्त स्थानमा पहिरोसम्बन्धी कुनै उल्लेख्य गतिविधिहरू देखिएका थिएनन् । कडा चट्टानी भूभाग भएका कारण प्राविधिक रूपमा सो क्षेत्रलाई सुरक्षित मानिँदै आइएको थियो । विगतमा कुनै समस्या नदेखिएको स्थानमा यस पटक अप्रत्याशित रूपमा ठुलो मात्रामा पहिरो खसेपछि सडक विभाग र प्राविधिकहरू सशङ्कित बनेका हुन् ।पहिरो खसेको भोलिपल्ट अर्थात् साउन १३ गते सडक डिभिजन भरतपुरका इन्जिनियरको नेतृत्वमा खटिएको प्राविधिक टोलीले ड्रोन क्यामेराको सहायताले पहिरो प्रभावित पहाडको विस्तृत स्थलगत निरीक्षण गरेको थियो । ड्रोनमार्फत लिइएको दृश्यहरूको अध्ययन गर्दा पहाडको माथिल्लो भागमा भौगर्भिक हलचल देखिएको र थप पहिरो खस्ने जोखिम यथावत् रहेको पुष्टि भएको छ ।
विगतमा सुरक्षित मानिएको चट्टानी पहाडमा पहिरो गएकाले सडक विभागले यसको दीर्घकालीन समाधानका लागि भू–प्राविधिक विज्ञ परिचालन गर्ने भएको छ । विज्ञ टोलीले गर्ने विशेष निरीक्षण तथा प्राविधिक अध्ययनपछि प्राप्त हुने राय–सुझावका आधारमा पहिरो रोकथाम र सडक सुरक्षाका थप प्रक्रियाहरू अगाडि बढाइने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।यसैगरी यस क्षेत्रमा थप पहिरो खस्ने जोखिम कायमै रहेकाले सडक डिभिजनले उक्त क्षेत्र भएर यात्रा गर्ने सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।डिभिजनले जोखिमपूर्ण वा पहिरो प्रभावित स्थान आसपास सवारी साधन रोकेर नराख्न, सो खण्ड पार गर्दा सवारी साधनको गति सीमित र नियन्त्रणमा राखी चलाउन, यात्रा गर्दा पहाडको माथिल्लो भाग र मौसमप्रति निरन्तर सतर्क रहन अनुरोध गरेको छ ।साथै सम्भावित पहिरो हटाउन र सडकलाई दुवैतर्फ सञ्चालनमा राखिरहन आवश्यक उपकरण र जनशक्तिलाई सोही क्षेत्रमा तयारी अवस्थामा राखिएको समेत कार्यालयले स्पष्ट पारेको छ ।




.gif)





