काठमाडौँ। हरेक वर्ष जुलाई २९ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश जारी गर्दै बाघ संरक्षणको साझा जिम्मेवारी पूरा गर्न आह्वान गरेका छन्। बुधबार जारी सन्देशमा उनले बाघ सौन्दर्यको प्रतीक मात्र नभएर हाम्रो पारिस्थितिक सन्तुलनको आधारस्तम्भ पनि भएको उल्लेख गरेका हुन्।सन्देशमा उपराष्ट्रपतिले पछिल्लो समय विश्वभर बाघको अस्तित्व अवैध शिकार, छाला–दाँतको व्यापार, वनजङ्गलको फडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारण गम्भीर सङ्कटमा परेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसले मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै संरक्षणमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने धारणा उनले व्यक्त गरेका छन्। साथै यस दिवसले नीति निर्माणकर्तालाई दीर्घकालीन योजना र कार्यक्रम तर्जुमा गर्न उत्प्रेरित गर्ने उनले बताएका छन्।
उपराष्ट्रपतिले नेपालले पछिल्लो दशकमा बाघ संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरेका छन्। संरक्षित क्षेत्रको सन्तुलित व्यवस्थापन, चोरी–शिकारी नियन्त्रण, जनचेतना र स्थानीय समुदायको सहभागिताले बाघको संख्या वृद्धिमा सहयोग पुगेको उनले सन्देशमा जनाएका छन्।द्यपि बाघको सङ्ख्या वृद्धिसँगै नयाँ चुनौतीहरू पनि थपिएकोतर्फ उनले ध्यानाकर्षण गराएका छन्। सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, ‘यससँगै मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तन जस्ता चुनौतीहरू पनि थपिएका छन्। यी चुनौतीलाई समयमै सम्बोधन गर्नु हाम्रो साझा जिम्मेवारी हो।’बाघ संरक्षणका बहुआयामिक फाइदाबारे चर्चा गर्दै उनले बाघको संरक्षणले जैविक विविधता मात्र नभई पर्यटकीय सम्भावनालाई पनि बलियो बनाउने बताएका छन्। संरक्षित क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गरी आर्थिक लाभ लिन सकिने र त्यसले स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुर्याउने उनको भनाइ छ।सन्देशको अन्त्यमा उपराष्ट्रपति यादवले भनेका छन्, ‘बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षा मात्र होइन, यो हाम्रो वातावरणीय सन्तुलन र भविष्यको सुरक्षा हो।’ अन्तर्राष्ट्रिय बाघ दिवस, २०२६ ले सबैलाई एकजुट भएर बाघ संरक्षणको साझा जिम्मेवारी पूरा गर्न प्रेरित गरोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन्।





.gif)





