काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसले विधान संशोधन गरी जनसम्पर्क समितिका तर्फबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेपछि पहिलोपटक यस क्षेत्रबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो।
निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले तीन हजार ११३ मत प्राप्त गर्दा अधिकारीले दुई हजार ८९६ मत पाएकी छन्।
त्यस्तै, जनसम्पर्क समितिअन्तर्गत युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले एक हजार ४१२ मत प्राप्त गरेका छन्।
ओसियाना–अमेरिका क्षेत्रबाट विद्याभूषण कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कार्कीले एक हजार ९५१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल दुई हजार ९४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी, प्यासिफिक क्षेत्रबाट डा। बलराम श्रेष्ठ निर्वाचित भएका छन्। उनले एक हजार ९२० मत प्राप्त गरेका छन्।
भारतस्थित जनसम्पर्क समितिबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले तीन हजार ८२७ मत प्राप्त गरेका छन्।
२१ जनसम्पर्क समितिको सहभागिता
नेपाली कांग्रेसले विधान संशोधनमार्फत जनसम्पर्क समितिका तर्फबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार पार्टीको १५औँ महाधिवेशनमा जनसम्पर्क समितितर्फबाट प्रतिनिधित्व सुनिश्चित भएको हो।
यस महाधिवेशनमा विभिन्न देशमा रहेका २१ वटा जनसम्पर्क समितिको सहभागिता रहेको थियो। विदेशमा रहेका नेपाली कांग्रेससम्बद्ध जनसम्पर्क समितिलाई पार्टीको केन्द्रीय संरचनामा प्रतिनिधित्व गराउने व्यवस्थाले प्रवासमा रहेका कांग्रेस कार्यकर्ताको सहभागिता विस्तार भएको छ।
जनसम्पर्क समितिबाट निर्वाचित केन्द्रीय सदस्यहरूले अब पार्टीको केन्द्रीय तहमा विदेशस्थित नेपाली समुदाय तथा जनसम्पर्क समितिसँग सम्बन्धित विषय उठाउने अवसर पाउनेछन्।




.gif)





