काठमाडौँ, २७ असोज । नवरात्रका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थित भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा सुरु गरिएको छ । जय मातादी सेवा समाजको आयोजनामा आश्विन शुक्ल प्रतिपदादेखि सामूहिक दुर्गा पूजा सुरु गरिएको अध्यक्ष सन्तोषकुमार गुप्ताले राससलाई जानकारी दिएका छन् ।
असोज २५ गते आइतबारदेखि सुरु गरिएको सामूहिक दुर्गा पूजा कात्तिक ४ गते विजयादशमीका दिन बिहानसम्म गरिने पनि उनले सुनाएका छन् । दुर्गा पूजामा दैनिक हजारौँ भक्तजन सहभागी हुने गरेका छन् ।
दुर्गा पूजाका क्रममा असोज ३० गते शुक्रबार भीमसेनस्थान क्षेत्रमा पालकी यात्रा गरिने समाजले जनाएको छ । भीमसेनस्थानस्थित परोपकार पुलमुनि असोज ३१ गते शनिबार फूलपातीका दिनमा पालकीबाट दुर्गादेवीको आँखा खोलिने कार्यक्रम राखिएको छ ।
समाजले बेलको हाँगामा दुर्गादेवीको बास हुने विश्वासमा पूजामा राख्ने गरेको अध्यक्ष गुप्ताले बताएका छन् । दुर्गा पूजाका क्रममा महाअष्टमी र महानवमीका दिनमा राति जागरणको कार्यक्रम राखिएको छ ।
विगत १९ वर्षअघिदेखि समाजले यहाँ प्रत्येक वर्ष सामूहिक दुर्गा पूजा गर्दै आएको छ । असोज २५ गते भद्रकाली मन्दिरबाट कलशयात्रा गरी दुर्गा पूजा सुरु गरिएको थियो । कात्तिक ४ गते विजयादशमीका दिन देवी विसर्जन गरी दुर्गाको प्रसाद लगाएपछि दुर्गा पूजा समापन गरिने जनाइएको छ ।




.gif)





