न्युयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा युक्रेन–रुस युद्धबारे आयोजित आपत्कालीन बैठकका क्रममा फ्रान्सका प्रतिनिधिले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी कूटनीतिज्ञहरू बैठकबाट बाहिरिएका छन् ।पछिल्ला दिनहरूमा अमेरिका र फ्रान्सबीच संयुक्त राष्ट्रसंघको मानवअधिकार नीतिलाई लिएर बढेको विवादबीच यो घटना भएको हो । अमेरिकाले संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कको चार वर्षे कार्यकाल नवीकरणको विरोध गरेपछि दुई देशबीच सामाजिक सञ्जालमा समेत एकअकाविरुद्ध तीखा टिप्पणीहरूभएका थिए ।जेनेभास्थित फ्रान्सको संयुक्त राष्ट्र नियोगले अमेरिकाले अब मानवअधिकारको नेतृत्वदायी भूमिका गुमाएको टिप्पणी गर्दै उसलाई उत्तर कोरिया, निकारागुआ, माली र रुससँग एउटै पङ्क्तिमा उभिएको आरोप लगाएको थियो । यसको जवाफमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्ज ले भोल्कर टर्कले अमेरिका, बेलायत र इजरायलजस्ता लोकतान्त्रिक मुलुकको आलोचना गर्ने तर मानवअधिकार उल्लङ्घन गर्ने सरकारहरूप्रति नरम व्यवहार गर्ने आरोप लगाएका थिए ।
बैठकबाट बाहिरिएपछि अमेरिकी वैकल्पिक प्रतिनिधि डान नेग्रेआ ले फ्रान्सले अमेरिकाप्रति प्रयोग गरेको आफूहरूको भनाइमा अपमानजनक र अहंकारी भाषा फिर्ता नलिएसम्म अमेरिकी प्रतिनिधिमण्डलले यस्ता बैठक बहिष्कार गरिरहने चेतावनी दिएका छन् । उता, फ्रान्सका संयुक्त राष्ट्रसंघका राजदूत जेरोम बोनाफोन्ट ले भने आफ्नो सम्बोधनमा अमेरिकी बहिर्गमनको कुनै उल्लेख गरेनन्। उनले फ्रान्स संयुक्त राष्ट्रसंघको स्वतन्त्रता र प्रभावकारी भूमिकाको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् ।भोल्कर टर्क हालै संयुक्त राष्ट्र महासभामा भएको मतदानमा १४४ मतको समर्थनसहित पुनः मानवअधिकार उच्चायुक्तमा नियुक्त भएका थिए । उनको नियुक्तिको विपक्षमा १० मत परेको थियो भने १३ देश तटस्थ बसेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०२५ यता संयुक्त राष्ट्रसंघका विभिन्न निकायको बजेट कटौती गर्नुका साथै धेरै अन्तर्राष्ट्रिय निकायबाट बाहिरिने निर्णय गरिसकेको छ । साथै, टर्कको कार्यकाल नवीकरण भए अमेरिकाले संयुक्त राष्ट्रसंघसँगको आफ्नो सम्बन्ध पुनः मूल्याङ्कन गर्न सक्ने चेतावनी पनि दिएको थियो । अमेरिका र फ्रान्सबीच पछिल्लो समय नेटोको रक्षा खर्च, व्यापार नीति, ग्रीनल्यान्डसम्बन्धी ट्रम्पको अभिव्यक्ति तथा इरान
युद्धमा युरोपेली मुलुकहरूको भूमिकालाई लिएर पनि मतभेद बढ्दै गएको छ ।




.gif)





