images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • अर्थ मन्त्रालयले माग्यो नेप्से सीईओका लागि...

अर्थ मन्त्रालयले माग्यो नेप्से सीईओका लागि आवेदन

अर्थ मन्त्रालयले माग्यो नेप्से सीईओका लागि आवेदन

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । नेपालको एकमात्र संगठित धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

    images
    images

    KAKADBHITA TORUSET.jpg

    मन्त्रालयले नेप्सेको नयाँ नेतृत्व चयनका लागि छनोट तथा सिफारिस समिति गठन गरिसकेको छ। सोही समितिको निर्णयअनुसार पहिलोपटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरिएको हो।

    images
    images

    सूचनाअनुसार आवेदन दिन इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवश्यक कागजातसहित आवेदन दर्ता गराउनुपर्नेछ।

    उच्च शैक्षिक योग्यता र १५ वर्षको अनुभव अनिवार्य

    नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर (Master's Degree) उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।

    त्यस्तै, उम्मेदवारसँग पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कम्तीमा १५ वर्षको कार्यअनुभव हुनुपर्नेछ। यसमध्ये कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।

    सूचनामा व्यवस्थापकीय तहको स्पष्ट व्याख्या गर्दै नेपाल सरकारको अधिकृत स्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरह, अथवा कम्पनी तथा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तह तलसम्मको नेतृत्वदायी जिम्मेवारी सम्हालेको अनुभवलाई मान्यता दिइने उल्लेख गरिएको छ।

    उमेरको सीमा ३० देखि ६५ वर्ष

    सीईओ पदका लागि आवेदन दिने उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म कम्तीमा ३० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

    यसका साथै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार केही व्यक्तिहरू यस पदका लागि अयोग्य हुने व्यवस्था गरिएको छ।

    अयोग्य ठहरिनेमा गैर–नेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएका व्यक्ति, सरकारी कालोसूचीमा रही फुकुवा भएको तीन वर्ष पूरा नभएका व्यक्ति, विदेशी स्थायी आवासीय अनुमति (PR, DV वा Green Card) लिएका व्यक्ति तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेका छन्।

    व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने

    अर्थ मन्त्रालयले उम्मेदवारलाई शैक्षिक प्रमाणपत्र र अनुभवका विवरण मात्र नभई नेप्सेलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोणसहितको व्यावसायिक कार्ययोजना (Business Action Plan) समेत पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

    उम्मेदवारले आफ्नो कार्ययोजनाको तीन प्रति खामबन्दी गरी आवेदनसँगै बुझाउनुपर्नेछ। खामको बाहिर आवेदकको नाम र "नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" स्पष्ट रूपमा उल्लेख गरी हस्ताक्षर गर्नुपर्नेछ।

    आवेदन दस्तुर ५ हजार रुपैयाँ

    सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले ५ हजार रुपैयाँ आवेदन दस्तुर बुझाउनुपर्नेछ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको कार्यालय कोड ३०५००३५०१ तथा राजस्व शीर्षक १८२२४ मा जम्मा गरी सक्कल भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ।

    प्रमुख कार्यकारी अधिकृतले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारले तोकेको मापदण्डअनुसार हुने सूचनामा उल्लेख गरिएको छ।

    प्रस्तुतीकरणपछि अन्तिम सिफारिस

    प्राप्त आवेदनहरूको छनोटपछि समितिले उम्मेदवारको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, व्यावसायिक कार्ययोजना तथा त्यसको प्रस्तुतीकरण (Presentation) को मूल्याङ्कन गर्नेछ। त्यसपछि सबैभन्दा योग्य उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिनेछ।

    अर्थ मन्त्रालयले कुनै पनि आवेदन कारण खुलाएर वा नखुलाई रद्द गर्ने अधिकार छनोट समितिमा रहने स्पष्ट पारेको छ। साथै आवेदनका क्रममा झुट्टा विवरण वा नक्कली कागजात पेस गरेको पाइएमा आवेदन स्वतः रद्द हुनुका साथै सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

    नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्तिलाई नेपालको पूँजी बजारको भावी दिशा, सुशासन, प्रविधि विस्तार, लगानीकर्ता संरक्षण तथा बजार विकाससँग जोडेर हेरिएको छ। त्यसैले यसपटकको खुला प्रतिस्पर्धाबाट छनोट हुने नेतृत्वले नेपालको धितोपत्र बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend