images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच...

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ, ४ साउन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्णरूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

    images
    images

    नेपाल विज्ञापन सङ्घको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिएका छन् । उनले  भने, “विज्ञापन क्षेत्रको दुरुपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्छ ।  यसलाई स्वच्छ, स्वस्थ र पारदर्शी बनाउनु सबैको साझा दायित्व हो । गलत अभ्यास र दुरुपयोग हुन नदिन निजी क्षेत्रले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ । नियामक निकायलाई पनि काम गर्न सक्दिन भन्ने छुट छैन ।”

    सञ्चारमन्त्री डा तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् । साथै उनले सही ढङ्गले व्यवसाय गरेर पनि नाफा आर्जन गर्न र सफलता हासिल गर्न सकिने विश्वास स्थापित गर्नुपर्ने बताएका छन् । “विगतमा इमान्दार ढंगले काम गरेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने विश्वास कमजोर थियो । हामी त्यो अवस्था परिवर्तन गर्न चाहन्छौँ,” उनले भने ।

    images
    images

    सञ्चारमन्त्री डा तिमिल्सिनाले यस क्षेत्रलाई नयाँ ऊर्जाका साथ अघि बढाउन सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ जारी गरेको र यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइने स्पष्ट पारेका छन् । “विज्ञापन नीति आइसकेको छ । अब त्यसको प्रभावकारी कार्यान्वयनमार्फत विज्ञापन क्षेत्रलाई कसरी व्यवस्थित र लाभदायी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ,” उनले बताएका छन् ।

    सञ्चारमन्त्री डा तिमिल्सिनाले विज्ञापन बोर्डको नियामकीय क्षमता थप सुदृढ बनाउन सरकारले आवश्यक पहल गर्ने जानकारी दिँदै बोर्डलाई प्रभावकारी संस्थाका रूपमा विकास गरिने बताएका छन् । साथै सरकार र निजी क्षेत्रबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले व्यावसायिकता, कानुनको पालना र उत्तरदायित्वलाई विज्ञापन क्षेत्रको आधार बनाउनुपर्ने उल्लेख गरेका छन् ।
     
    छलफलका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले समग्र सञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ नयाँ कानुन ल्याउन लागेको र ती विधेयक बन्ने क्रममा रहेको बताएका छन् । सञ्चार क्षेत्रका कमजोरीका कारण विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्र सुधारका काम योजनाबद्ध र चरणबद्ध रूपमा अघि बढाइने बताएका छन् ।

    राष्ट्रिय विज्ञापन नीति २०८३ स्वागत योग्य , प्रभावकारी कार्यान्वयन गरिनुपर्छ, अध्यक्ष थापा 

    छलफलमा सङ्घका अध्यक्ष सुदीप थापाले पछिल्लो एक दशकमा नेपालको विज्ञापन बजारको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको बताएका छन् । उनले अहिले विज्ञापन बजार अस्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख भएको उल्लेख गर्दै माग र आपूर्तिबीचको असन्तुलनले बजारलाई थप चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । उनले भने, “नेपालको विज्ञापन बजार सानो भएकाले होइन, पर्याप्त लगानी नहुँदा चुनौती देखिएको छ । बजारको दायरा विस्तार गर्न स्वस्थ प्रतिस्पर्धा र दीर्घकालीन लगानी आवश्यक छ, ।” 

    नेपालमा विज्ञापन डिजाइन, सिर्जनात्मक सामग्री क्रियटिभ तथा जनशक्तिको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले विज्ञापन क्षेत्रलाई समग्र इकोसिस्टमका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो । “विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यम सबै एकअर्कासँग जोडिएको प्रणालीका हिस्सा हुन्,” उनले भने ।

    अध्यक्ष थापाले डिजिटल माध्यममा बढ्दो विज्ञापनलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सामाजिक सञ्जालमा हुने विज्ञापन तथा ‘इन्फ्लुएन्सर मार्केटिङ’लाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले सरकारले हालै ल्याएको राष्ट्रिय विज्ञापन नीति २०८३का व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापन क्षेत्रलाई व्यावसायिक सेवा क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।

    नेपालमा विज्ञापन बजारको वास्तविक आकार, लगानी र कारोबारसम्बन्धी विश्वसनीय तथ्यांकको अभाव रहेको उल्लेख गर्दै सङ्घले त्यसका लागि आवश्यक अध्ययन तथा अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत दिएको छ । साथै, विज्ञापन बोर्डको पुनर्संरचना गरी त्यसलाई थप सक्षम, प्रभावकारी र आधुनिक नियामक निकायका रूपमा विकास गर्न सरकारले प्राथमिकता दिनुपर्ने धारणा पनि सङ्घले राखेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend