काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड सुचारु भएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठुला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।अवरोध खुलाउन सडक योजनाका तर्फबाट रातिदेखि नै एक्स्काभेटर, लोडर र टिपर जस्ता आवश्यक मेशिन तथा उपकरणहरू परिचालन गरिएको थियो ।
निरन्तरको प्रयासपछि आइतबार बिहान ११ः ०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छ्याउन प्राविधिक टोली सफल भएको जनाएको छ । हाल नारायणगढदेखि काठमाडौँसम्मको सम्पूर्ण सडक खण्ड सामान्य अवस्थामा सञ्चालनमा आइसकेको योजना कार्यालयले जनाएको छ ।सडक योजना कार्यालयले प्रतिकूल मौसम र सडक अवरोधका बिच पनि धैर्यतापूर्वक लेन अनुशासन कायम राखी सहयोग पुर्याउने यात्रु तथा सवारी चालकहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, वर्षातको समय भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यात्रा गर्नुअघि सडकको अवस्थाबारे राम्रोसँग बुझेर मात्र यात्रा तय गर्न सडक प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गरिएको छ ।




.gif)



