images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • आगलागीको तनावपछि स्वास्थ्यमा असर, उपचारका लागि...

आगलागीको तनावपछि स्वास्थ्यमा असर, उपचारका लागि नेपालमै बसे गुरुङ

आगलागीको तनावपछि स्वास्थ्यमा असर, उपचारका लागि नेपालमै बसे गुरुङ

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफ्ना आश्चर्यलाग्दा निर्णयहरूका कारण सधैं सर्वसाधारणको चासोमा रहन्छन् । यो देशमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति मध्येका एक उनले हालै आफ्नै स्वास्थको विषयमा लिएको एक निर्णयले सबैलाई छक्क पारेको छ । गतवर्ष दसैंको मुखैमा (भदौ २४ गते) भएको आन्दोलनमा निजी क्षेत्रबाट सबैभन्दा ठूलो आर्थिक नोक्सानी व्यहोरेका गुरुङले कर्मचारीको तलब नरोकिने घोषणासहित दसैं पेश्कीसमेत दिएर गरेर सबैको वाहवाही पाएका थिए । देशभर रहेका भाटभटेनीका २७ सुपर स्टोरहरूमध्ये आगलागीमा १२ वटा स्टोर्स पूर्णरुपमा ध्वस्त भएर आफूलाई १७ अर्ब रुपैयाँको घाटा लाग्दा लाग्दै पनि उनले भगवान कोइरालाको अग्रसरतामा बनेको काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) मा आफूले कबोल गरेको ७१ करोड रुपैयाँ बराबरको सहयोग दिएर अस्पताललाई संचालनमा ल्याउन समेत ठूलो सहयोग गरे । यो कामका लागि पनि उनले धेरै सह्राहना पाए । 

    images
    images

    त्यसबाहेक उनले कतिजनालाई डाक्टर बनाए, टिचिङ अस्पतालमा आकस्मिक कक्ष र थप विशेष उपचार कक्ष बनाए, कति मन्दिर निर्माणमा सहयोग गरे र कति सामाजिक कार्यगरे भन्ने कुराको लामै सूची बन्छ । यति ठूलो व्यवसायी र समाजसेवी गुरुङ हालै निकै ठूलो स्वास्थ्य समस्याबाट गुज्रिए । आगलागीमा परेका उनका वेयरहाउस र स्टोर्सहरूको पुनर्निर्माणमा दत्तचित्त भएर लागेका गुरुङको स्वास्थमा समस्या बढ्दै गएको रहेछ, जुन केही समयमा सतहमै देखियो । आगलागी भएका सम्पूर्ण स्टोर भत्काउने, जलेका सामान निकाल्ने, नयाँ निर्माणको क्रममा फलामको वेल्डिङ, सिमेन्टको धुलो, टायल कटाई, काठको चिरान जे सुकै चलिरहेको होस् बिहान ६ बजेदेखि राति ८–१० बजेसम्म सधैं निर्माण साइटमा व्यस्त रहने र सबै काम आफ्नै निगरानीमा गराउनुपर्ने उनलाई अचानक कमजोरी महसुस हुन थाल्यो । धेरै हिँड्दा वा उकालो चढ्दा निकै थकाइ लाग्ने भयो । आखिरमा शरीरमा बिरामी पसिसकेपछि मनले मात्र जितेर कति दिन सकिन्थ्यो । मीनबहादुर गुरुङको रगतमा समस्या देखियो ।

    जलेको तीन महिना भित्रै बालुवाटारको वेयर हाउस पुनः सुचारु हालतमा ल्याएर सर्वसाधारण मात्र होइन उनलाई ऋण दिने विदेशी बैंकका माथिल्ला तहका हाकिम समेत आश्चर्यचकित भए । आगलागी पश्चात भाटभटेनीलाई रुग्ण संस्थाको रुपमा हेरिएको र यसको एक–दुई करोडका चेक समेत नसाटिने अवस्था रहेकोमा तीन महिनाभित्रै भाटभटेनी सुपर स्टोर्सले जति ऋण मागे पनि दिने मनस्थितिमा पुगे उनलाई सहयोग गर्ने बैंकहरू ।बैंकहरूले ऋण दिनमा निकै सहयोग त गरे तर बीमा कम्पनीले गाह्रै पारे । आफ्नो नोक्सान परेको रकम बीमाबाट प्राप्त गर्न जुधिरहेका गुरुङले पुनर्निर्माण कार्यलाई रोक्नभने दिएनन् । पूर्ण ध्वस्त भएको पाँच महिनामानै कोटेश्वरको भाटभटेनी सञ्चालनमा ल्याए अनि क्रमशः महाराजगञ्ज, पोखरा र चितवनका स्टोर्स सञ्चालनमा आए । सञ्चालनमा आएका सबै स्टोर्सको पुजा समारोह र खुल्ने दिन सक्रिय भएर सरिक भएका मीनबहादुर गुरुङ असार १० गते बौद्ध स्टोर खोल्ने बेलामा देखिएनन् । उनकी धर्मपत्नी सावित्री गुरुङ र पुत्र कल्याण गुरुङले मात्र पुजाआजा र स्टोर खुल्ने दिन ग्राहकको स्वागत गरे । त्यस्तै घटना असार २७ गते विराटनगर खुल्ने दिन र त्यसको केही दिनअघि त्यहाँको पुजामा पनि देखियो । 

    images
    images

    गुरुङ साच्चैनै आराम गर्नुपर्नेगरी बिरामी परेका रहेछन् । उनको रक्त परीक्षण गर्दा हेमोग्लोबिन भन्ने पदार्थ रगतमा निकै कमी भएको देखियो । फोक्सोबाट अक्सिजन लिएर शरीरभरी सञ्चार गर्नुपर्ने हेमोग्लोबिनको कमीका कारण उनी अस्पताल भर्ना भए ।घर, परिवार, इष्ट मित्रले तुरुन्तै भारत, थाइल्याण्ड वा अमेरिका गएर उपचार गर्नका लागि निकै कर गरे तर गुरुङले कसैको सुनेनन् । शिक्षण अस्पताल महाराजगंज गएर डा. अन्जन श्रेष्ठको निगरानीमा उनी अस्पताल भर्ना भए । डा. अन्जन श्रेष्ठले गरेको उपचारमा अर्को ठूलो सहयोग रह्यो मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी पौडेलको । रगतमा हेमोेग्लोबिनको कमी हुँदा मुटुलाई स्वस्थ राख्न पौडेलको पनि ठूलो भूमिका रह्यो । “मलाई के विश्वास छ भने नेपालका डाक्टरहरू निकै क्षमतावान् छन् र तिनले अमेरिका वा भारतमा जत्तिकै वा अझ बढी स्तरीय उपचार गर्छन्,” ३७ दिन टिचिङ अस्पतालमा बसेर डिस्चार्ज हुँदै गर्दा गुरुङले बाह्रखरीलाई बताए । नेपालमा रुघा लाग्दा वा ज्वरो आउँदा समेत विदेश जान हतारिने उपल्लो वर्गको भन्दा बिल्कुल फरक व्यवहार र आश्चर्यजनक व्यवहार देखाएर मीनबहादुर गुरुङले आफ्नो उदारता र नेपालप्रतिको सम्मान देखाएर पुनः एकपल्ट सबैलाई आश्चर्य चकित बनाएका छन् । 

    उनी अस्पतालबाट घर फर्के पनि अझै केही समय घरमै आराम गर्नुपर्ने अवस्थामा छन् । हेमोग्लोबिनको कमीलाई शरीरले जित्दै गएको छ, तर गुरुङ पूर्णरुपमा स्वस्थ भएका छैनन् ।आफूले नेपालको चिकित्सा क्षेत्रलाई विश्वास गरेको प्रतिफल पाएकोमा सन्तुष्ट छन् गुरुङ र भन्छन्, “पैसा छ भन्दैमा नेपालमै हुनसक्ने उपचारका लागि विदेश जानु मलाई ठिक लाग्दैन । यहाँ पनि एक से एक डाक्टरहरू छन् र उपचारको विधिमा केही कमी छैन ।”सधैं काममा एकोहोरो जोतिएका गुरुङ अहिले लामो समय आराम गर्नु परेकोमा पनि दुःखी छैनन् । तर, उनको सबैभन्दा पहिलो नक्सालको भाटभटेनी स्टोरको पुजा र पुनः सञ्चालनको दिन भने सावधानीपूर्वक सार्वजनिक रुपमा देखिने मन बनाएर बसेका छन् मीन बहादुर गुरुङ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend