काठमाडौं । नेपाल परिवार नियोजन संघ (FPAN) उपत्यका शाखाको ४६औँ वार्षिक साधारण सभा तथा शाखा समिति निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट तारा सिंखडा पुडासैनी पुनः सर्वसम्मत रूपमा सभापतिमा निर्विरोध निर्वाचित भएकी छन् भने पवनराज ढुंगेल कोषाध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल तीन वर्षको हुनेछ।
शाखाकी सभापति तारा सिंखडा पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका पूर्व सभामुख सानु श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संघका केन्द्रीय सदस्य, पूर्व पदाधिकारी, आजीवन सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि सानु श्रेष्ठले नेपाल परिवार नियोजन संघले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR), परिवार नियोजन, सुरक्षित मातृत्व तथा समुदायमा आधारित स्वास्थ्य सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
शाखा प्रबन्धक प्रकाश डंगोलले काठमाडौं उपत्यकासहित दुर्गम पहाडी तथा हिमाली जिल्लामा पनि महिला स्वास्थ्य तथा एकीकृत यौन तथा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको जानकारी दिए। उनले महिला, किशोरकिशोरी, युवा, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसम्म सम्मानजनक र अधिकारमा आधारित स्वास्थ्य सेवा पुर्याउन शाखाले महत्वपूर्ण भूमिका खेलेको बताए।
सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरिएको थियो। शाखाले आगामी दिनमा सेवा विस्तार, गुणस्तर अभिवृद्धि, नवीन प्रविधिको प्रयोग तथा प्रभावकारी व्यवस्थापनमार्फत संस्थालाई थप सेवामुखी, आत्मनिर्भर र नवप्रवर्तनशील बनाउने प्रतिबद्धता जनाएको छ।




.gif)





