काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा देशभर विविध साहित्यिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरी उनको अतुलनीय योगदानको स्मरण गरिएको छ। यसै क्रममा काठमाडौंको लैनचौरस्थित निष्ट कलेज ले पनि भानु जयन्तीलाई भव्य र सभ्य रूपमा मनाउँदै प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
कलेज परिसरबाट सुरु भएको प्रभातफेरीमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने सन्देशसहित सडक परिक्रमा गरेका थिए। प्रभातफेरीका क्रममा आदिकवि भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्दै उनका साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने सन्देश दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निष्ट कलेजका कोअर्डिनेटर भीमसेन खड्काले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनले संस्कृत भाषामा रहेको महाकाव्य रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम नेपाली जनतामाझ पुर्याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने बताए।
उहाँले भानुभक्तले नेपाली भाषालाई जनभाषाका रूपमा स्थापित गर्न खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै नयाँ पुस्ताले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुपर्नेमा जोड दिए।
ूहामी आज नेपाली भाषामा सहज रूपमा रामायण पढ्न र बुझ्न सक्षम भएका छौँ भने त्यसको श्रेय आदिकवि भानुभक्त आचार्यलाई जान्छ। उनको योगदानलाई कुनै पनि पुस्ताले बिर्सनु हुँदैन,ू खड्काले कार्यक्रममा मन्तव्य राख्दै भने।
प्रभातफेरीमा सहभागी विद्यार्थीहरूले भानुभक्तका कृतिबाट प्रेरणा लिँदै नेपाली भाषाप्रति सम्मान व्यक्त गरेका थिए। उनीहरूले नेपाली साहित्यको विकासमा आदिकविको योगदानलाई जीवन्त राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रमका क्रममा भानुभक्तका साहित्यिक योगदान, नेपाली भाषाको विकासमा उनले पुर्याएको भूमिका तथा वर्तमान पुस्ताले भाषा र संस्कृतिप्रति निर्वाह गर्नुपर्ने दायित्वबारे पनि चर्चा गरिएको थियो। सहभागीहरूले नेपाली भाषा राष्ट्रको पहिचान भएकाले यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए।
नेपाली साहित्यका आदिकविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई आम नागरिकसम्म पुर्याउने ऐतिहासिक कार्य गरेका थिए। उनका रचनाले नेपाली भाषा र साहित्यको विकासमा नयाँ युगको सुरुवात गरेको मानिन्छ।
हरेक वर्ष असार २९ गते मनाइने भानु जयन्तीका अवसरमा नेपाल तथा विदेशस्थित नेपाली समुदायले प्रभातफेरी, कविता वाचन, साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न स्मृति समारोह आयोजना गर्दै आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहँदै आएको छ।
निष्ट कलेजले आयोजना गरेको प्रभातफेरी कार्यक्रमले पनि आदिकविप्रति सम्मान प्रकट गर्नुका साथै विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र संस्कृतिप्रति थप जागरण फैलाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।




.gif)





