काठमाडौं । जलन भएपछि तत्काल र सही प्राथमिक उपचार गर्न सके बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिने इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालले बताएका छन्।
उनका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनुपर्छ। शरीरमा आगो लागेको व्यक्ति एक्लै भए भुईँमा ढलेर लडिबुडी गर्ने (स्टप, ड्रप एन्ड रोल) विधि अपनाएर आगो निभाउन सकिन्छ। आगो निभाउन बाक्लो कपडा, जुटको सामग्री वा पानीमा भिजाइएको आगो नलाग्ने ब्ल्यांकेट प्रयोग गर्न सकिने भए पनि सावधानी अपनाउनुपर्ने उनले बताए।
आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा भए जलेको भागमा करिब ३० मिनेटसम्म सामान्य तापक्रमको बगिरहेको पानी हाल्नुपर्ने डा. धितालको सुझाव छ। फ्रिजको चिसो वा तातो पानी प्रयोग गर्न नहुने र जलेको भागलाई पानीमा डुबाउनु भन्दा माथिबाट पानी बगाउनुपर्ने उनले बताए।
उनले जलेर शरीरमा टाँसिएका कपडा जबरजस्ती निकाल्न नहुने भन्दै त्यसो गर्दा छाला थप च्यातिने र घाउ गहिरिने जोखिम रहने बताए।
जलनपछि बिरामी सचेत छ र खान सक्ने अवस्थामा छ भने बिस्तारै पानी खुवाउनुपर्ने उनको भनाइ छ। जलनका कारण छालाले शरीरभित्रको पानी जोगाउने क्षमता गुमाउँदा शरीरमा तरल पदार्थको कमी हुने भएकाले पानी खुवाउनु आवश्यक हुने उनले स्पष्ट पारे।
प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुर्याउनुपर्ने डा. धितालले बताए। बिरामी खान सक्ने अवस्थामा भए बाटोमै पनि पानी खुवाउन सकिने तर बेहोस वा गम्भीर अवस्थामा रहेको बिरामीलाई ढिलाइ नगरी तत्काल अस्पताल लैजानुपर्ने उनले जोड दिए।
उनका अनुसार यी सामान्य प्राथमिक उपचारका उपाय मात्र हुन्। गम्भीर जलन भएका बिरामीलाई चिकित्सकीय उपचार अनिवार्य हुन्छ। नेपालमा जलनसम्बन्धी जनचेतनाको अभाव र प्राथमिक उपचारबारे जानकारी कम हुँदा धेरै बिरामीले समयमै सही उपचार पाउन नसकेको उनले उल्लेख गरे।
बिहीबार भएको गणेश नेपालीको घटनाले पनि जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचारबारे जनचेतना अझै कमजोर रहेको देखाएको डा. धितालले बताए।




.gif)





