images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही...

रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने

रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटका शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक सुरक्षा र पूर्वाधार विकासका लागि सरकारले चालेका कदमहरूबारे स्पष्ट पारेका हुन् । सांसदहरूले कर्णाली राजमार्गको दयनीय अवस्था र सडक दुर्घटनाको जोखिमका बारेमा राखेका जिज्ञासाको सम्बोधन गर्दै मन्त्री लम्सालले चालु आर्थिक वर्षमै देशैभरका एक लेनका सडकलाई दुई लेन बनाउन टेण्डर प्रक्रिया सुरु गरिने जानकारी दिए ।

    images
    images

    पुल निर्माणमा भएको ढिलासुस्ती र अलपत्र आयोजनाहरूबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीले ५ सय ८० वटा रुग्ण आयोजनामध्ये ३ सय वटामा काम सुरु भइसकेको र लापरबाही गर्ने निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले सार्वजनिक खरिद ऐनमा संशोधन प्रस्ताव गरिएको र उक्त संशोधनपछि ‘लो बिडिङ’ (न्यून कबोल) का कारण आयोजना अलपत्र पर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे ।सदनमा बोल्दै मन्त्री लम्सालले भने, ‘सडक सुरक्षालाई मध्यनजर गर्दै सरकारले २७ अर्ब रुपैयाँ पहिरो नियन्त्रण र रोड फर्निचरका लागि विनियोजन गरेको छ । अब बन्ने सबै राजमार्गहरूमा अन्डरपास र ओभरपासको प्रावधान अनिवार्य गरिनेछ ।’

    तुइन विस्थापनका सम्बन्धमा बोल्दै मन्त्री लम्सालले सरकारीस्तरका सबै तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न बजेट व्यवस्था गरिएको र निजी तुइनहरूको विकल्पमा पनि झोलुङ्गे पुल निर्माण गरिने प्रतिबद्धता जनाए । यस्तै, कालीगण्डकी कोरिडोर र कोरोला नाका जोड्ने सडकको स्तरवृद्धिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी यसै आर्थिक वर्षमा ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए ।जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको परिवर्तनले सडक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै मन्त्रीले ती समस्या समाधानका लागि पर्याप्त बजेट व्यवस्था गरिएको उल्लेख गरे । पुँजीगत खर्च र प्रशासनिक दक्षताका विषयमा मन्त्री लम्सालले मन्त्रालयका सम्पूर्ण कार्यलाई डिजिटल माध्यममा लगिएको र फाइल स्वीकृत गर्ने प्रक्रियालाई अधिकतम तीन दिनभित्र टुङ्ग्याउने गरी सुधार गरिएको दाबी गरे । पुरानै कार्यक्रमहरूको निरन्तरता र कार्यान्वयनमा प्रभावकारिता ल्याउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend