images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • काठमाडौँ थोरै पानी पर्दा पनि किन...

काठमाडौँ थोरै पानी पर्दा पनि किन हुन्छ जलमग्न ?

काठमाडौँ थोरै पानी पर्दा पनि किन हुन्छ जलमग्न ?

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । अहिले मनसुन याम चलिरहेको छ। बिहान घाम लागे पनि साँझपख एक्कासी मुसलधारे वर्षा हुने गरेको छ। गत बिहीबार साँझ कार्यालय र विद्यालयबाट घर फर्कने समयमा एक्कासी परेको पानीले काठमाडौँका सडक जलमग्न भए।सिंहदरबार नजिकैको माइतीघर, अनामनगरलगायतका क्षेत्रमा पानी जम्दा सवारीसाधन अलपत्र परे भने पैदलयात्रीले सास्ती भोगे। खाल्डाखुल्डी पानीले भरिँदा दुर्घटनाको जोखिमसमेत बढ्यो। यो बिहीबारको मात्र दृश्य होइन, काठमाडौँ उपत्यकामा मनसुनको समयमा थोरै पानी पर्दा पनि सडक जलमग्न हुने र जनजीवन प्रभावित हुने समस्या नियमित जस्तै बनेको छ।

    images
    images

    विशेषज्ञहरूले अव्यवस्थित सहरीकरण, साँघुरा ढल, खोला अतिक्रमण र कङ्क्रिटका कारण पानी जमिनमा सोसिन नपाउनुलाई डुबानको मुख्य कारण मानेका छन्। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईले ढलमा फालिने प्लास्टिकजन्य फोहर र पूर्वाधार निर्माणका निकायबीच समन्वय नहुँदा समस्या बढेको बताए।‘ढल प्रणालीमा प्लास्टिक र फोहर जम्मा हुँदा पानीको बहाव रोकिन्छ र सामान्य वर्षामा पनि सडकमा पानी जम्छ’, उनले भने। सडक विस्तार र निर्माणका क्रममा निस्कने माटो र बालुवा ढलमा पस्दा निकास थप अवरुद्ध हुने गरेको राईको भनाइ छ। खुला क्षेत्र कङ्क्रिटले ढाकिँदा घरको छाना र आँगनको पानी सिधै ढलमा मिसिने र त्यसले ढलको क्षमता धान्न नसक्ने अवस्था आएको उनले स्पष्ट पारे।

    ढलको चाप घटाउन अकासे पानीलाई जमिनमुनि पठाउनु आवश्यक छ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालले भूजल पुनर्भरणका लागि उपत्यकाका ३०० भन्दा बढी स्थानमा संरचना निर्माण भइसकेको जानकारी दिए। त्रिचन्द्र क्याम्पसको छतको पानी पुनर्भरण प्रणालीमार्फत रानीपोखरी क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ। सडकबाट बगेर आउने लेदो र धुलोले ढल जाम हुने गरेको प्रस्ट पार्दै बरालले सङ्घीय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय भएमा डुबानको दीर्घकालीन समाधान निस्कने बताए।भूगर्भविद् डा. सुबोध ढकालले पानीको निकासका लागि खुला जमिन नछाडिएका कारण डुबानको जोखिम बढेको बताए। ‘विगतमा आकाशबाट परेको पानीको ठूलो हिस्सा जमिनभित्र सोसिने र भूजल पुनर्भरण हुने गर्थ्यो, अहिले कङ्क्रिटको विस्तारले त्यो प्राकृतिक प्रक्रिया अवरुद्ध भएको छ’, उनले भने।

    images
    images

    घर निर्माण गर्दा सबै भूभाग ढलान गर्नुको सट्टा केही भाग खुला छाड्न र छतको पानी ट्याङ्कीमा जम्मा गर्न उनले सुझाव दिए। नयाँ सहर विकास गर्दा खुला क्षेत्र र भूजल पुनर्भरणलाई अनिवार्य मापदण्ड बनाउनुपर्ने ढकालको जोड छ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले ढल र खोलाकिनारको फोहर सफा गरिसकेको दाबी गरे। एकैछिनमा धेरै पानी पर्ने गरेकाले डुबानको समस्या पूर्ण रूपमा हट्न नसकेको उनले बताए।जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले पछिल्लो समय वर्षाको स्वरूप फेरिएको बताइन्। विगतमा दुई–तीन दिनसम्म पर्ने पानी अहिले एक घण्टामै पर्ने गरेको उनको भनाइ छ। बिहीबार बबरमहल क्षेत्रमा एक घण्टामै ४७ मिलिमिटर वर्षा भएको उदाहरण दिँदै उनले छोटो समयको भारी वर्षाले डुबान गराएको स्पष्ट पारिन्।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले छोटो समयमा धेरै वर्षा हुनुलाई जलवायु परिवर्तनको असरका रूपमा लिन सकिने बताए। तीव्र सहरीकरण भए पनि त्यसअनुसारको पूर्वाधार विकास नहुँदा विपद्को जोखिम झन् बढेको उनको बुझाइ छ। यस्ता विपद्बाट हुने क्षतिको तथ्याङ्कले अन्तर्राष्ट्रिय जलवायु कोषमा नेपालको पहुँच बढाउन मद्दत गर्ने ढकालले प्रस्ट पारे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend