काठमाडौँ । नेपालको डिजिटल विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित स्वदेशमै विकसित डिजिटल विज्ञापन प्लेटफर्म ‘एड्सारो नेपाल’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको “Evolving Media Landscape and Ever-Transitioning Advertising Business” विषयक छलफल कार्यक्रममा प्लेटफर्म सार्वजनिक गरिएको हो ।
प्लेटफर्म सार्वजनिक गर्दै एड्सारो नेपालका अध्यक्ष सुजन अधिकारीले विज्ञापनदाता, एजेन्सी र प्रकाशकलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने लक्ष्यसहित यो प्लेटफर्म विकास गरिएको जानकारी दिए । उनका अनुसार अबको विज्ञापन व्यवसाय केवल परम्परागत माध्यममा सीमित नभई डेटा, प्रविधि, पारदर्शिता र मापनयोग्य परिणाममा आधारित हुँदै गएको छ ।अध्यक्ष अधिकारीले एड्सारो नेपाललाई विज्ञापनदाता र प्रकाशकबीचको “डिजिटल पुल” का रूपमा विकास गरिएको उल्लेख गर्दै यसले विज्ञापन अभियान व्यवस्थापन, रिपोर्टिङ, प्रदर्शन मापन तथा कारोबारलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने बताए ।प्लेटफर्ममार्फत भिडियो, ब्यानर, नेटिभ तथा पप विज्ञापन सेवा उपलब्ध गराइनेछ । यसले ब्रान्ड तथा व्यवसायलाई लक्षित दर्शकसम्म प्रभावकारी रूपमा पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
अध्यक्ष अधिकारीका अनुसार नेपालमा तीव्र रूपमा बढिरहेको डिजिटल उपभोक्ता व्यवहार, अनलाइन मिडिया र सामाजिक सञ्जालको विस्तारलाई ध्यानमा राखेर स्थानीय आवश्यकताअनुसार यो प्लेटफर्म तयार गरिएको हो।एड्सारो नेपाललाई केवल विज्ञापन प्लेटफर्म मात्र नभई नेपालको डिजिटल विज्ञापन उद्योगलाई नयाँ दिशातर्फ लैजाने डिजिटल पूर्वाधारका रूपमा अघि सारिएको आयोजकले जनाएको छ ।




.gif)





