काठमाडौँ । निर्वासित तिब्बतीयन धार्मिक नेता दलाई लामाको जन्मदिनको अवसरमा सोमबार स्वम्यभुमा कार्यक्रम गरिएको छ । तिब्बती समुदायले धर्मगुरुको जन्मदिन स्वयम्भूस्थित नामग्याल स्कुलमा मनाएका हुन् । धर्मगुरु लामाको जन्मदिनमा काठमाडौँमा पनि ‘फ्री–तिब्बत’ गतिविधि हुनसक्ने आकलन गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । आज मनाइएको १४औँ दलाई लामाको ९१ औँ जन्मदिन हो ।जिल्ला सुरक्षा समितिले जुलुस, सभा र पोस्टर सहित प्रदर्शन गर्न रोक लगाइएको थियो । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले फ्री तिब्बत मुभमेन्ट जस्ता गतिविधि हुन नदिन कठोर ढङ्गले प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
नामग्याल स्कुलमा भएको कार्यक्रम औपचारिक नभएको हुनाले आफ्नो नोटिसमा नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘अनौपचारिक कार्यक्रम हाम्रो जानकारीमा हुने कुरा भएन ।’जन्मदिन मनाउन नामग्याल स्कुलमा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू समेत सहभागी भएको दाबी गरिएको छ । कार्यक्रममा बौद्ध धर्मावलम्बीहरू उपस्थित थिए । जन्मदिनको अवसरमा केक काटेर तथा सांस्कृतिक प्रस्तुति गरेर उत्सव मनाइएको आयोजकले बताएका छन् ।जिल्ला सुरक्षा समितिको बैठकमा यसअघि पनि बन्द कोठाभित्र कार्यक्रम गर्दा अवरोध नगरिएको हुनाले यसपटक पनि आफ्नो आस्था राख्न बन्द कोठामा कार्यक्रम गरेमा लचकता अपनाउनेबारे छलफल भएको थियो ।
सुरक्षा समितिका एक जना सदस्य भन्छन्– ‘बन्द कोठाभित्र पनि गीत बजाउने र भाषण गर्न नदिनेबारे छलफल भएको थियो ।’ सुरक्षा समितिका ती सदस्य भन्छन्– ‘विद्यालय वा अन्य स्थानको भित्र कोठामा धूप बाल्ने र मौन ढङ्गले पोस्टर, पम्पलेट बिना कार्यक्रम गर्न भने रोक नलगाउने विषयमा छलफल भएको थियो ।’नेपालको सार्वजनिक नीति र परराष्ट्र नीतिको बर्खिलाप हुने गरी कार्यक्रम हुन नदिएको एसपी भट्टराईले बताए ।




.gif)





