काठमाडौँ । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनतर्फ उल्लेखनीय रूपमा अघि बढेको छ। आयोजनाको करिब ७५ प्रतिशत मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न भएसँगै हाल राष्ट्रिय विद्युत् प्रणालीको मागअनुसार ७४ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको छ।
नेपाल–चीन सीमास्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना देशका रणनीतिक महत्वका जलविद्युत् आयोजनामध्ये एक हो। गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पुर्याए पनि छोटो अवधिमै पुनः उत्पादनको अवस्थामा पुग्नु सकारात्मक उपलब्धि भएको स्थानीयवासी सोनाम औदी तामाङले बताए।
रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार बाढीले सुरुङभित्र पसेको भेलका कारण क्षतिग्रस्त बनेका विद्युत् गृहका उपकरणहरूको मर्मत, भूमिगत डिसेन्डर (बालुवा थिग्राउने पोखरी) को सफाइ, अवरोध हटाउने तथा हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण मर्मत एवं पुनःनिर्माण कार्य सम्पन्न भइसकेका छन्।
उनका अनुसार आयोजनाले प्रयोग गर्ने पुलको सुरक्षाका लागि तटबन्ध निर्माण, जोखिमयुक्त क्षेत्रमा आवश्यक संरक्षणका संरचना निर्माण तथा अन्य सुरक्षा सुधारका कामसमेत पूरा गरिएको छ। यस्तै, भोटेकोशी नदीस्थित बाँध क्षेत्रमा बाढीले थुपारेका विशाल ढुंगाहरू फुटाउने कार्य सम्पन्न भइसकेको छ भने ड्याम मर्मतका बाँकी काम अन्तिम चरणमा पुगेका छन्।
कम्पनीले अब नयाँ गेटमार्फत नदीको पानी फिल्टर गरी सुरुङमा पठाउने व्यवस्था मिलाइसकेको जनाएको छ। यससँगै आयोजना प्राविधिक रूपमा पुनः १११ मेगावाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्षम भइसकेको कम्पनीको दाबी छ।
बाढीका कारण आयोजनामा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीको प्रारम्भिक अनुमान छ। जलविद्युत् केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार आयोजना अहिले पूर्ण रूपमा सञ्चालनयोग्य भए पनि देशभित्र विद्युत्को माग अपेक्षाकृत कम रहेकाले नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार हाल ७४ मेगावाट मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो।
प्राविधिकहरूका अनुसार आयोजनाका अधिकांश संरचना भूमिगत रहेकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना न्यून छ। आगामी दिनमा बाँध तथा बाह्य संरचनाको सुरक्षा थप सुदृढ गर्दै आयोजना दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो ढंगले सञ्चालन गर्ने तयारी कम्पनीले गरेको छ।
रसुवागढी जलविद्युत् आयोजनाको पुनः सञ्चालनले वर्षायाममा राष्ट्रिय विद्युत् उत्पादन वृद्धि, ऊर्जा आपूर्तिमा स्थिरता तथा विद्युत् निर्यातको सम्भावना विस्तार गर्न समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।




.gif)





