काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। लगातार दुई कारोबार दिन बढेको बजार शुक्रबार ८.३० अंकले घटेर २६५३.४० विन्दुमा बन्द भएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले घटेका छन्।
परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा शुक्रबार ३४५ वटा कम्पनीका ८५ लाख ८४ हजार कित्ता शेयर ४६ हजार २३४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स हाइड्रोपावर र कालंगा हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्सको शेयर मूल्य करिब १५ प्रतिशत तथा खानी खोला हाइड्रोपावरको शेयर मूल्य ११.५ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहँदै करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम भने १७ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
१३ वटा उपसमूहमध्ये शुक्रबार ५ वटा उपसमूहको परिसूचक बढ्दा ८ वटा उपसमूह घटेका छन्। वित्त उपसमूह सर्वाधिक १.०६ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत्, लघुवित्त र व्यापार उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।
यता, बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले घट्दै बजारमा दबाब सिर्जना गरेको छ। समग्रमा बजार परिसूचकमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा आएको वृद्धि र केही कम्पनीमा देखिएको सकारात्मक सर्किटले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।




.gif)





