काठमाडौं । नेपाली रैथाने खानपान तथा हस्पिटालिटी क्षेत्रमा झण्डै पाँच दशकदेखि सक्रिय बाजेको सेकुवा लिमिटेड पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएसँगै प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा जुटेको छ। रेष्टुरेन्ट क्षेत्रबाट पूँजी बजारमा प्रवेश गर्ने पहिलो कम्पनी बन्ने लक्ष्यसहित कम्पनीले आगामी साउन १ गते विशेष साधारण सभा बोलाएको छ।
कम्पनीका अनुसार काठमाडौंको बत्तीसपुतलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने विशेष साधारण सभाले प्रिमियम मूल्यमा शेयर निष्कासन, शेयरको मूल्य निर्धारण तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गर्नेछ। यसअघि गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ निष्कासनको प्रारम्भिक प्रस्ताव स्वीकृत गरिसकेको थियो।
१५ करोड रुपैयाँ बराबरको आईपीओ
कम्पनीले सर्वसाधारणका लागि चुक्तापुँजीको २० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको छ। हाल संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको आईपीओपछि चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको अधिकृत पूँजी भने १ अर्ब रुपैयाँ रहेको छ।
विशेष साधारण सभाले सञ्चालक समितिलाई प्रिमियम मूल्य निर्धारण, निष्कासन प्रक्रिया अघि बढाउने तथा आवश्यक अन्य निर्णय गर्ने अख्तियारी दिनेछ।
मध्यम स्तरको सुरक्षित रेटिङ
आईपीओ तयारीसँगै कम्पनीले आफ्नो वित्तीय अवस्थाको मूल्याङ्कन पनि गराएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ुऋब्च्भ्(ल्ए द्यद्यद्यु इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरको सुरक्षित रहेको संकेत गर्ने जनाइएको छ।
आम्दानीमा उल्लेखनीय वृद्धि
कम्पनीका अनुसार आर्थिक वर्ष २०७८।७९ देखि २०८१।८२ सम्म सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१।८२ सम्म कम्पनीको सञ्चालन आम्दानी ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। शाखा विस्तार र संगठित रेष्टुरेन्ट सेवाप्रतिको बढ्दो मागले आम्दानी वृद्धि भएको कम्पनीको भनाइ छ।
सिनामंगलको सानो पसलदेखि अन्तर्राष्ट्रिय ब्रान्डसम्म
झण्डै ४९ वर्षअघि काठमाडौंको सिनामंगलस्थित विमानस्थल क्षेत्रबाट सानो सेकुवा पसलका रूपमा सुरु भएको बाजेको सेकुवा अहिले नेपालभित्र र बाहिर गरी २९ वटा शाखासहित स्थापित नेपाली रेष्टुरेन्ट ब्रान्डका रूपमा परिचित छ। कम्पनीले हाल २०० भन्दा बढी नेपाली तथा अन्य परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको छ।
२०६६ कात्तिक २३ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भएको कम्पनी २०८२ असार २५ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।
पूँजी बजारमा नयाँ क्षेत्रको प्रवेश
नेपालको शेयर बजारमा हालसम्म बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत् कम्पनीहरूको वर्चस्व रहेको अवस्थामा बाजेको सेकुवाको प्रवेशले वास्तविक उत्पादन तथा सेवा क्षेत्र (रियल सेक्टर) को प्रतिनिधित्व बढाउने अपेक्षा गरिएको छ। विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि औपचारिक निवेदन दिने प्रक्रिया अघि बढाउने जनाएको छ।




.gif)





