काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र एकताको प्रयास तीव्र बनेको छ। विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षलाई समेट्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्ने उद्देश्यले संस्थापन पक्षले संवादलाई गति दिएको छ। यद्यपि संस्थापनले वार्तालाई निरन्तरता दिए पनि देउवा समूह भने समानान्तर गतिविधिमा सक्रिय देखिएको छ। आगामी असोजमा हुने नियमित महाधिवेशनलाई लक्षित गर्दै संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारीसमेत अघि बढाएको छ।
नेता विमलेन्द्र निधिका अनुसार उनले प्रकाशमान सिंह र डा. शशांक कोइरालासँग छलफल गर्दै पार्टीको वर्तमान अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा कांग्रेसको भूमिकाबारे साझा धारणा बनाएका छन्। उनका अनुसार अहिले सत्तारूढ दलभित्रबाटै संघीयताविरुद्धका अभिव्यक्ति आउन थालेकाले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता बढेको छ। यस्तो अवस्थामा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने उनीहरूको निष्कर्ष रहेको उनले बताए।
निधिले पूर्णबहादुर खड्कामार्फत पार्टी एकताका लागि केही प्रस्ताव अघि सारिएको जानकारी दिए। ती प्रस्तावमा पुरानै क्रियाशील सदस्यता कायम राख्ने, १५औँ महाधिवेशन सहमतिका आधारमा सम्पन्न गर्ने, छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति तथा विधान संशोधन समितिलाई सबै पक्षको सहमतिमा गठन गर्ने विषय समेटिएको छ। यसबारे थप छलफल गर्न भोलि खड्काको निवासमा बैठक बस्ने तयारी रहेको उनले बताए। उनले आफूहरूको अभियान नयाँ पार्टी गठनका लागि नभई कांग्रेसलाई एकताबद्ध बनाउन केन्द्रित रहेको स्पष्ट पारे।
संस्थापनइतर समूहले महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन विभिन्न प्रस्ताव अघि सारेको छ। उनीहरूले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समिति बाहिर रहेका १११ जनालाई समेट्नुपर्ने, सबै पक्षको सहभागिता रहने उच्चस्तरीय एकता समिति गठन गर्नुपर्ने तथा निर्वाचन, क्रियाशील सदस्यता व्यवस्थापनलगायत महत्त्वपूर्ण संयन्त्रमा समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
यसबीच कांग्रेसले असोजमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संस्थापन पक्षका अनुसार अधिकांश क्रियाशील सदस्यताको अध्यावधिक सम्पन्न भइसकेको छ र असारभित्र सम्पूर्ण प्रक्रिया टुंग्याइने लक्ष्य राखिएको छ। उपचारका लागि हाल हङकङमा रहेका निवर्तमान सभापति देउवाको अनुपस्थितिमा पूर्णबहादुर खड्काले इतर पक्षको नेतृत्व गरिरहेका छन् भने खड्का र शेखर कोइरालाले सहमतिका लागि निरन्तर संवाद जारी राखेका छन्।
महामन्त्री गुरुराज घिमिरेले पनि पार्टीभित्रको संवादलाई सक्रिय बनाएका छन्। उनले पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गर्दै पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरेका छन्। उनका अनुसार इतर पक्ष विशेष महाधिवेशनबाट बनेको नेतृत्वको वैधानिकता स्वीकार गर्न तयार भए पनि सहभागी नभएका नेताहरूलाई सम्मानजनक भूमिका दिनुपर्ने तथा निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्ने अडानमा छ।
घिमिरेले नेतृत्व यी प्रस्तावप्रति सकारात्मक रहेको बताए पनि समाधान भने पार्टी विधानको सीमाभित्र रहेर खोजिने स्पष्ट पारे। उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई समेत यसबारे जानकारी गराइसकेको बताए।
यद्यपि १४औँ महाधिवेशनका १११ नेतालाई केन्द्रीय समितिमा समेट्ने प्रस्तावमा भने मतभेद देखिएको छ। सभापति गगन थापाले विधानविपरीतका प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारिसकेका छन्। अर्कोतर्फ नेता शेखर कोइरालाले यस विषयमा केही लचकता देखाउँदै आफ्नो उद्देश्य भागबन्डा नभई निष्पक्ष महाधिवेशन सम्पन्न गर्नु मात्र रहेको बताएका छन्। उनले उच्चस्तरीय संयन्त्रमार्फत सहमति खोज्न सकिने धारणा राखेका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त प्रक्रियाप्रति असन्तुष्ट देउवा–खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरे पनि अदालतले रिट खारेज गरिसकेको छ। यद्यपि आन्तरिक मतभेद अझै पूर्ण रूपमा समाधान भइसकेको छैन।
यसबीच सभापति थापाले देउवा–शेखर पक्षका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि दुवै पक्षबीच संवादको वातावरण बनेको छ। असोजअघि सबै तहका अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले पार्टीभित्रको मतभेद अन्त्य गर्दै सबै पक्षलाई एउटै प्रक्रियामा समेट्नु अहिले सभापति थापासामु सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ।




.gif)





