काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पहाडी विमानस्थलहरूबाट प्राप्त प्रतिवेदनअनुसार नियमित उडान हुन नसक्नुको मुख्य कारण पर्याप्त यात्रु नहुनु रहेको बताए।
उनका अनुसार नेपालभर ५५ वटा विमानस्थल रहेका छन्। तीमध्ये ३४ वटा सञ्चालनयोग्य अवस्थामा छन् भने २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेका छन्।
मन्त्री पौडेलले कालीकोटको सुनथराली विमानस्थलसहित अन्य पहाडी विमानस्थलमा नियमित यात्रु सुनिश्चित भए आवश्यक प्राविधिक जनशक्ति, सञ्चार उपकरण र अन्य पूर्वाधार उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको अभाव नरहेको स्पष्ट पार्दै उडान नै नहुने विमानस्थलमा जनशक्ति राख्नुभन्दा हाल सञ्चालनमा रहेका विमानस्थलमा परिचालन गरिएको जानकारी दिए।
सरकारले यात्रु चाप बढ्दै गएसँगै आवश्यकताअनुसार पहाडी क्षेत्रका विमानस्थलमा सेवा विस्तार गर्ने नीति लिएको मन्त्री पौडेलले बताए।




.gif)





