काठमाडौँ, १७ असार । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज (बुधबार) बस्दै छन्। बैठकमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य तथा कानुनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहान ११ बजे बस्ने बैठकमा सन् २०२७ लाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने तयारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यप्रगति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहान ९ बजे बस्ने बैठकमा समितिको आन्तरिक कार्यविधि तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ९ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ।
संसदीय समितिहरूमा हुने यी छलफललाई आगामी नीतिगत निर्णय र विधेयक प्रक्रियाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।




.gif)





