काठमाडौँ, १७ असार । नेपालमा यस वर्षको मनसुन प्रणाली देशभर पूर्ण रूपमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु पश्चिमी सीमासम्म पुगेसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भागमा मनसुन विस्तार भएको हो।
महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। त्यसपछि क्रमशः विभिन्न प्रदेशमा फैलिँदै १२ दिनपछि देशभर विस्तार भएको हो। सामान्यतया नेपालमा मनसुन जुन १३ तारिखतिर प्रवेश गरी एक साताभित्र देशभर फैलिने गर्छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले जनाएका छन्।
महाशाखाले आज देशभर पूर्ण बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।
महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। वर्षाको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




.gif)





