images

२०८३ आश्विन १६ गते

images
images
images

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

images
images
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • सिद्धार्थनगर (भैरहवा), १६ असार । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री, वैज्ञानिक र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।

    images
    images

    सोमबार गोष्ठीको उद्घाटन गर्दै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सुशीलसिंह राठौरले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै साइबर अपराध, वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन तथा अन्तरदेशीय अपराधका चुनौती बढ्दै गएको बताए । उनले अनुसन्धान अधिकृतको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

    हत्या, मानव बेचबिखन, अपहरण, बन्धक, कुटपिट लगायत गम्भीर प्रकृतिका अपराधमा निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्न निर्देशन दिँदै उनले डिजिटल फरेन्सिक, एएफआइएस, सिसीआइएस, क्रिमिनल फिङ्गर प्रिन्ट डाटाबेस तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउनुपर्ने धारणा राखे ।

    images
    images

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी एवं नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले अपराध अनुसन्धानलाई समयसापेक्ष, व्यावसायिक र विश्वसनीय बनाउन प्रदेशभरका अनुसन्धान अधिकृतको क्षमता विकासलाई प्राथमिकतामा राखिएको बताए। अनुसन्धानमा एकरूपता, वैज्ञानिक प्रमाण सङ्कलन, प्रभावकारी अभियोजन तथा अदालतमा सफल परीक्षणका लागि प्रहरी, सरकारी वकिल, न्यायपालिका र सरोकारवाला निकायबीचको समन्वयलाई थप सुदृढ बनाइने उनको भनाइ छ ।

    गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विज्ञ अधिकृतहरूले साइबर अपराध, डिजिटल प्रमाण व्यवस्थापन, वैज्ञानिक अनुसन्धान प्रणाली तथा अनुसन्धानका नयाँ प्रविधिबारे प्रशिक्षण दिएका थिए । सरकारी वकिल कार्यालयका अधिकारी, जिल्ला अदालत तथा उच्च अदालतका न्यायाधीशहरूले अनुसन्धानका क्रममा कानुनी प्रक्रिया, प्रमाण सङ्कलन, अभियोजन र न्यायिक परीक्षणका विषयमा प्रशिक्षण तथा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका जिल्ला प्रहरी प्रमुख, मुद्दा शाखा प्रमुख, अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृत, सरकारी वकिल, न्यायिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो । 

    गोष्ठीमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका साइबर अपराध अनुसन्धान अधिकृत उज्ज्वल खड्काले प्रहरीले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरी र सञ्चारमाध्यमबीच विश्वास, पारदर्शिता र समन्वय आवश्यक रहेको बताए। उनले तथ्यमा आधारित सूचना प्रवाह, जिम्मेवार सञ्चार र समाजमैत्री तथा मिडियामैत्री प्रहरी सेवाले अपराध नियन्त्रणमा समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार गोष्ठीमा प्रदेशभर भएका अपराधको अनुसन्धान अवस्था, देखिएका चुनौती, उत्कृष्ट अभ्यास, अनुसन्धानमा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने उपायबारे विस्तृत समीक्षा र छलफल गरिएको थियो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरी अनुसन्धानलाई अझ प्रभावकारी, उत्तरदायी र प्रविधिमैत्री बनाइने कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend