काठमाडौँ । २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव–२०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनले दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम आयोजना गर्ने भएको छ। स्वदेशी कृषि तथा दुग्धजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा हाईलाइफ चिउराले सहकार्य गरेको छ।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालका अनुसार कार्यक्रम असार ११ गते बिहीबार दिउँसो १२ बजे काठमाडौंको थापागाउँस्थित गाउँघर चौतारी बजारमा आयोजना हुनेछ। कार्यक्रममा कृषि, दुग्ध, सहकारी तथा खाद्य क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, किसान, उद्योगी–व्यवसायी, उपभोक्ता तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा नेपाली समाजमा विशेष महत्व बोकेको दही–चिउराको सांस्कृतिक, धार्मिक तथा पोषणसम्बन्धी पक्षमाथि चर्चा गरिनेछ। असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने परम्परासँग दही–चिउराको गहिरो सम्बन्ध रहेको र यसले नेपाली कृषि संस्कृतिको पहिचान झल्काउने आयोजकको भनाइ छ।
त्यसैगरी, कार्यक्रममा दुग्ध क्षेत्रको वर्तमान अवस्था, किसानका समस्या, दुग्ध उत्पादन तथा बजारीकरणका चुनौती र सम्भावनाबारे पनि छलफल गरिनेछ। स्वदेशी दुग्धजन्य उत्पादनको उपभोग वृद्धि गर्दै कृषकको आयस्तर उकास्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमअन्तर्गत आयोजना गरिने प्रेस मिटमा राष्ट्रिय धान दिवसको महत्व, दुग्ध उद्योगको वर्तमान अवस्था तथा स्वदेशी उत्पादन प्रवर्द्धनका विषयमा जानकारी गराइनेछ। नेपाली उत्पादनको प्रयोग र उपभोगलाई प्रोत्साहन गर्दै कृषि तथा दुग्ध क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल डेरी एसोसिएसनले जनाएको छ।
नेपाल डेरी एसोसिएसनले सञ्चारमाध्यमहरूलाई कार्यक्रममा सहभागी भई समाचार संकलन, प्रकाशन तथा प्रसारणमार्फत कृषि, दुग्ध तथा स्वदेशी उत्पादन प्रवर्द्धन अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरेको छ।
आयोजकका अनुसार राष्ट्रिय धान दिवसको अवसरमा आयोजना हुने यस कार्यक्रमले किसान, उपभोक्ता, उद्योगी र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




.gif)





