काठमाडौं। देशभर हालसम्म करिब १ लाख ३७ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार यो कुल लक्ष्य क्षेत्रफलको करिब १० प्रतिशत मात्र हो। गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।देशभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान छ। तर मनसुन ढिला सक्रिय हुँदा अधिकांश क्षेत्रमा रोपाइँ अपेक्षित रूपमा अघि बढ्न नसकेको विभागले जनाएको छ।
प्रदेशगत विवरणअनुसार हालसम्म सबैभन्दा बढी रोपाइँ कर्णाली प्रदेशमा २२.८ प्रतिशत भएको छ। त्यसपछि बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ भएको छ। तराई क्षेत्र धान उत्पादनका लागि उपयुक्त मानिए पनि मधेस प्रदेशमा हालसम्म करिब ५ प्रतिशत मात्र रोपाइँ भएको छ।कृषि विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन ढिलाइका कारण अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो। मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, मल अभाव तथा अन्य कृषि इनपुट समस्याले पनि रोपाइँ ढिला भइरहेको उनले बताए।विभागका अनुसार तराई क्षेत्रमा कुल धान उत्पादनको करिब ७० प्रतिशत योगदान रहने गर्छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।कृषि सूचना केन्द्रले किसानलाई आधुनिक प्रविधि, मौसमसम्बन्धी जानकारी तथा उत्पादन वृद्धि गर्न आवश्यक ज्ञान र सीप उपलब्ध गराउँदै आएको जनाएको छ।




.gif)



