काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले पछिल्ला वर्षहरुमा गरेको तीव्र व्यापार विस्तार, फाइबर नेटवर्क विस्तार तथा डाटा सेन्टरलगायत नयाँ प्रविधिमा गरेको लगानीका कारण कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। साथै, ग्राहक संख्या निरन्तर बढ्दै जाँदा कम्पनीको कुल आम्दानी १२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।यस कम्पनीको वित्तीय अवस्थाका आधारमा रेटिङ एजेन्सीले केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक कर्जाका लागि 'केयर एनपी ए' बाट बढेर 'केयर एनपी ए प्लस' तथा अल्पकालीन बैंक कर्जाका लागि 'केयर एनपी ए२ प्लस' बाट 'केयर एनपी ए१' रेटिङ प्रादन गरेको छ ।यस कम्पनीले २ अर्ब ७६ करोड १० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको हो । कम्पनीले लङ ट्रम कर्जा १ अर्ब १ करोड १० लाख रुपैयाँ र सर्ट ट्रम १ अर्ब ७५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।
रेटिङ स्तरोन्नति कम्पनीको वित्तीय प्रदर्शनमा आएको निरन्तर सुधार, ग्राहक संख्या वृद्धि तथा बजारमा कायम रहेको बलियो नेतृत्वका कारण सम्भव भएको केयर रेटिङ्सले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म वर्ल्डलिंकले आम्दानी, नाफा र नगद प्रवाहमा उल्लेखनीय सुधार हासिल गरेको छ ।गत वर्ष १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो अघिल्लो वर्षको वर्षको भन्दा ९.०१ प्रतिशत धेरै हो । कम्पनीले १ अर्ब ३० लाख रुपैयाँ भन्दा धेरै आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन ३२.६१ प्रतिशत पुगेको छ भने नगद सञ्चिति पनि करिब ३ अर्ब रुपैयाँसम्म पुगेको छ ।निरन्तर सुधारिएको वित्तीय प्रदर्शनले कम्पनीको समग्र स्थायित्व र लगानी क्षमता मजबुत बनाएको छ। यता, अघिल्लो आर्थिक वर्ष (सन् २०२४) मा कम्पनीले ११ अर्ब १२ करोड ८० लाख र २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको ऋण–पूँजी संरचना र ऋण तिर्ने क्षमता पनि उल्लेखनीय रुपमा सुधार भएको छ । फिनिस फन्ड फर इन्डस्ट्रियल कोअपरेसन लिमिटेडबाट प्राप्त नयाँ इक्विटी लगानी तथा विगतका वर्षहरुमा आर्जित सञ्चित नाफाले कम्पनीको नेटवर्थ बलियो बनाएको छ । यसले कम्पनीको वित्तीय जोखिम घटाउन र समग्र सोल्भेन्सी स्थिति सुदृढ बनाउन सहयोग पुर्याएको रेटिङ एजेन्सीको निष्कर्ष छ ।नेपाल दूरसञ्चार प्राधिकरणका तथ्यांकअनुसार सन् २०२५ जुलाईसम्म वर्ल्डलिंकका करिब १० लाखभन्दा बढी ग्राहक रहेका थिए भने कम्पनीको बजार हिस्सा करिब ३२ प्रतिशत पुगेको थियो। सन् २०२६ अप्रिलसम्म ग्राहक संख्या बढेर १० लाख ८० हजार पुगेको छ, जसले कम्पनीको बजार नेतृत्व अझ मजबुत बनेको देखाउँछ।यद्यपि, रेटिङ एजेन्सीले इन्टरनेट सेवा उद्योगलाई उच्च पूँजी आवश्यक पर्ने, तीव्र प्रतिस्पर्धा हुने, मूल्य दबाब रहने, विदेशी मुद्रा जोखिम, नियामकीय परिवर्तन तथा प्रविधि परिवर्तनसँग सम्बन्धित जोखिमहरु रहेको पनि उल्लेख गरेको छ ।
यता, यस कम्पनीमा विदेशी लगानी हालसम्म ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले सन् २०२३ जनवरीमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र मार्च २०२३ मा डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी प्राप्त गरेको थियो। त्यसपछि सन् २०२६ फेब्रुअरीमा फिनिस फन्ड फर इन्डस्ट्रियल कोअपरेसन लिमिटेडबाट थप १ अर्ब ३९ करोड रुपैयाँ लगानी भित्रिएको छ।यी सबै लगानीसँगै वर्ल्डलिंकमा कुल विदेशी लगानी २०२६ मध्य-अप्रिलसम्म करिब ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। उक्त लगानी कम्पनीको नेटवर्क विस्तार, पूर्वाधार विकास तथा सेवा विस्तारका लागि प्रयोग भइरहेको छ।ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको विकास वित्तीय संस्था हो भने डोल्मा इम्प्याक्ट फन्ड नेपालमा साना तथा मझौला उद्यमहरुमा वृद्धि पूँजी लगानी गर्ने पहिलो व्यावसायिक इम्प्याक्ट फन्डका रुपमा परिचित छ।




.gif)





