तनहुँ, ८ असार । आधुनिकता, सहरीकरण र वैदेशिक रोजगारीको प्रभावले लोपोन्मुख बन्दै गएको दरै समुदायको मौलिक ‘चुड्का नाच’ संरक्षणका लागि समुदाय सक्रिय बनेको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नारासहित आयोजित प्रतियोगिता मार्फत नयाँ पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने अभियान अघि बढाइएको हो।
दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा रहेको चुड्का नाच विवाह, पर्व तथा सामुदायिक उत्सवमा प्रस्तुत गरिने परम्परागत लोकनृत्य हो। सामूहिक रूपमा गीत गाउँदै तालबद्ध नृत्य प्रस्तुत गरिने यो कला पछिल्लो समय युवापुस्ताको घट्दो सहभागिताका कारण संकटमा पर्दै गएको छ।
दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले शिक्षादिक्षा, सहरीकरण र रोजगारीका कारण युवाहरू समुदायबाट टाढिँदै जाँदा चुड्का नाच संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको जनसंख्या १८ हजार ६९५ मात्रै रहेको छ। गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा यस समुदायको उल्लेख्य बसोबास रहेको छ।
दरै समाजले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान सुरु गरेको जनाएको छ। समाजका पदाधिकारीहरूका अनुसार मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएको छ, जसका कारण संरक्षण अभियान आवश्यक बनेको हो।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाचलाई दरै समुदायको इतिहास, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै यसको अभिलेखीकरण र संरक्षणमा नगरपालिकाले सहयोग गर्ने बताए। मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको गीत र संस्कृतिलाई लिखित तथा डिजिटल माध्यममा सुरक्षित राख्नुपर्ने आवश्यकता उनले औँल्याए।
प्रतियोगितामा व्यास–१० को दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचान जोगाउन यस्ता मौलिक सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाले बताएका छन्। दरै समुदायको चुड्का नाच केवल एउटा नृत्य नभई समुदायको इतिहास, संस्कृति र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षणमा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायको साझा पहल आवश्यक देखिएको छ।




.gif)





