बारा । वन अतिक्रमण हटाउन डिभिजन वन कार्यालय बाराले सार्वजनिक गरेको सूचनामा सामाजिक सञ्जालमार्फत उत्तेजक तथा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।डिभिजन वन कार्यालयले गत शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत निजगढ नगरपालिका वडा नं. २ स्थित वनदेवी सामुदायिक वन क्षेत्रभित्र रहेको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना सार्वजनिक गरेको थियो ।
उक्त सूचनामाथि प्रतिक्रिया जनाउँदै निजगढ नगरपालिका वडा नं. ९ निवासी एक पुरुषले ‘जसले गरिब जनता उठाउन आउँछ, त्यहाँको जनता एक भएर त्यसको घाँटी छिनाउनुपर्छ’ भन्ने आशयको टिप्पणी गरेका थिए ।वन कार्यालयले उक्त टिप्पणीलाई सरकारी निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई लक्षित गर्दै हिंसा भड्काउने र सार्वजनिक शान्ति सुरक्षामा असर पार्ने खालको अभिव्यक्ति भएको ठहर गर्दै आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएको थियो ।प्रहरीले ती व्यक्तिलाई जीतपुरसिमरा–३, बजनी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका व्यक्तिसँग प्रहरीले सोधपुछ गर्दा गल्ती स्विकार गर्दै ‘आगामी दिनमा यस्तो टिप्पणी नगर्ने’ भन्दै माफी मागेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
उनले लिखित रूपमा माफी मागेको र आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि साँझ छाडिएको प्रहरीको भनाइ छ ।डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झाले वन क्षेत्र संरक्षणका लागि कानुनी प्रक्रिया अनुसार नै अभियान सञ्चालन भइरहेकाले सामाजिक सञ्जालमा जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गरेका छन् ।प्रमुख झाले सरकारी कामकारबाहीमा अवरोध पु¥याउने, कर्मचारी तथा सुरक्षाकर्मीलाई धम्की दिने वा हिंसात्मक गतिविधि उक्साउने कार्य कानुनविपरीत हुने उल्लेख गर्दै यस्ता घटनामा आवश्यक कानुनी कारबाही गरिने बताएका छन् ।वन संरक्षण अभियन्ताहरूले पनि सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता अपनाउन तथा असहमति भए कानुनी र सभ्य माध्यमबाट आफ्नो धारणा राख्न आग्रह गरेका छन् ।वन अतिक्रमण हटाउने विषयलाई लिएर विभिन्न स्थानमा बहस भइरहेका बेला सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने झाको भनाइ छ ।




.gif)





