काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी विकास कोष परिसरमा शान्ति पदयात्रा तथा आत्महत्या, लागूऔषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विश्व शान्ति दीप अगाडिबाट सुरु गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विद्यार्थी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य समाजमा बढ्दो आत्महत्या, लागूऔषधको दुव्र्यसन तथा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले आत्महत्या, लागूऔषध दुर्व्यसन र सडक दुर्घटना आजको समाजका गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि प्रहरी, समुदाय, परिवार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा सकारात्मक सोच, अनुशासन र जिम्मेवार व्यवहारको विकास गर्न यस्ता जनचेतनामूलक अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लागूऔषध दुर्व्यसनले विशेषगरी युवापुस्तालाई प्रभावित गरिरहेको भन्दै अभिभावक, शैक्षिक संस्था तथा समुदायलाई सचेत रहन आग्रह गर्नुभयो । साथै सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र जिम्मेवार यात्रु बन्नुपर्नेमा जोड दिनुभयो ।
शान्ति पदयात्रामार्फत सहभागीहरूले सामाजिक विकृति तथा विसंगतिविरुद्ध सचेतना फैलाउने सन्देश दिएका थिए । कार्यक्रममा आत्महत्या रोकथाम, लागूऔषध नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी जानकारीमूलक सामग्री वितरण गरिएको थियो भने विभिन्न सचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो ।

नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थानमा यस्ता जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जनाएको छ । लुम्बिनीमा सम्पन्न कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै शान्तिपूर्ण, सुरक्षित र सभ्य समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




.gif)





