काठमाडौं । भीरबाट टेम्पो खसाल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वन कार्यलय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालका थिए । सो दृश्य सामाजिक सञ्जालमा भाइरल छ ।घटना शनिबारको हो । गोदावरी–४ को गाईमारे क्षेत्रमा बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरूले भीरबाट धकेलेर खसालिदिएका थिए । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् ।
तर चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा उनको टेम्पो भीरबाट खसालियो । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिए ।सो भिडियो सामाजिक संजालमा भाइरल भयो । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरूसम्मले घटनामा वन कर्मचारीहरूको व्यवहारको आलोचना गरे ।चौतर्फी आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले १२ कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।घटनाबारे आवश्यक सोधपुछका लागि डिभिजन वन कार्यालय कैलाली र सब–डिभिजन वन कार्यालय अत्तरियाका ११ कर्मचारीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वन कार्यालयले भने सो टेम्पो वन तथा राजमार्ग क्षेत्र अतिक्रमण गरेर राखिएको र पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरेपछि अतिक्रमण हटाउने अभियानका क्रममा हटाइएको जनाएको छ ।डिभिजन वन कार्यालय कैलालीले घटनापछि विज्ञप्ति जारी गर्दै कर्मचारीहरूले जानाजान वा नियोजित रूपमा टेम्पोलाई भीरबाट नखसालेको स्पष्टीकरण दिएको थियो । कार्यालयका अनुसार सामाजिक सञ्जालमा प्रचार भएजस्तो बल प्रयोग गरेर नष्ट गर्ने उद्देश्य थिएन ।उता टेम्पो धनि धामीले भने वन कर्मचारीहरूले आफ्नो जीविकोपार्जनको माध्यम बलपूर्वक नष्ट गरेको आरोप लगाएकी छन् । उनले कानुनी प्रक्रिया पूरा नगरी आफ्नो सम्पत्ति क्षति पुर्याइएको भन्दै न्यायको माग गरेकी छन् ।




.gif)





