images

२०८३ आश्विन १६ गते

images
images
images

एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे

एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • विराटनगर । विराटनगर महानगरपालिकाभित्र विकासको दृष्टिकोणले निकै पछाडि पारिएको क्षेत्र मानिन्थ्यो झापा बैजनाथपुर अर्थात् महानगरपालिकाकै वडा नम्बर १९ । महानगरमा ढिलो गरी जोडिएका कारण यस वडाले लामो समयसम्म उपेक्षा र पूर्वाधारको अभाव झेल्नुपर्‍यो ।चार वर्ष अगाडिसम्म यहाँका सडक वर्षा याममा हिलो र हिउँदमा धुलोले पुरिने गर्थे भने स्वास्थ्य र शिक्षाको अवस्था अत्यन्तै दयनीय थियो, तर स्थानीय निर्वाचनपश्चात् जननिर्वाचित प्रतिनिधिहरूको सक्रियताले अहिले विराटनगर–१९ ले विकासमा प्रगति गरेको छ ।

    images
    images

    विगतमा विराटनगर–१९ मा हिँड्न योग्य सडकका नाममा मिलनचोक–महेशपुर सडक खण्डमात्र थियो । त्यो पनि जीर्ण अवस्थामा । यतिबेला सडक पूर्वाधारको क्षेत्रमा सो वडामा ठुलो परिवर्तन आएको छ । ‘हामी निर्वाचित भएर आएपछि वडाको विकासलाई प्राथमिकतामा राखेर काम सुरु गर्‍यौँ । विगतमा एउटामात्र सडक जीर्ण अवस्थामा रहेको यस वडामा अहिले करिब २० देखि २२ किलोमिटर सडक पिच (कालोपत्रे) भइसकेको छ,’ वडाध्यक्ष श्याम घिमिरेले भने ।यसका साथै सडकको स्थायित्व र संरक्षणका लागि लगभग ४५ देखि ५० किलोमिटर क्षेत्रमा रिटेनिङ वाल (पर्खाल) निर्माण गरिएको र ग्राभेलिङको कामलाई तीव्रता दिएर वडालाई लगभग हिलोमुक्त बनाउन सफल भएको उनको भनाइ छ ।

    नयाँ प्लटिङ क्षेत्रहरूमा जथाभावी खनिएका सडकहरू वडाका लागि चुनौती बने पनि योजनाबद्ध रूपमा नाला, कल्भर्ट र सडक स्तरोन्नति गरेर सडक सञ्जाललाई व्यवस्थित बनाइएको छ ।विराटनगर–१९ मा भएको सबैभन्दा ठुलो र प्रशंसनीय कार्य स्वास्थ्य क्षेत्रको स्तरोन्नति हो । सामान्य उपचारका लागि पनि विराटनगरको मुख्य बजारका महँगा अस्पताल धाउनुपर्ने स्थानीयको बाध्यतालाई वडा कार्यालयले सदाका लागि अन्त्य गरिदिएको छ । विगतको सामान्य स्वास्थ्य चौकीलाई अहिले महानगरपालिकाकै उत्कृष्ट ‘नगरस्तरीय आधारभूत अस्पताल’ का रूपमा विकास गरिएको छ ।‘स्वास्थ्य क्षेत्रमा हामीले ठुलो फट्को मारेका छौँ । बैजनाथपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आधारभूत अस्पताल बनाइएको छ, जहाँ अहिले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा (बर्थिङ सेन्टर), आधुनिक प्रयोगशाला (ल्याब) र नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममार्फत निःशुल्क औषधि र उपचारको व्यवस्था गरिएको छ,’ वडा अध्यक्ष घिमिरेले भने । अस्पतालमा एमबीबीएस डाक्टर चौबीसै घण्टा उपलब्ध छन् । एम्बुलेन्सको व्यवस्था समेत उपलब्ध छ । यो सेवा लागु भएपछि विपन्न र निम्न वर्गीय परिवारले आफ्नै वडामा स्वास्थ्य सेवा पाउन थालेको घिमिरे बताउँछन् ।

    images
    images

    वडाभित्र सञ्चालित ४ वटा सामुदायिक विद्यालयको अवस्था विगतमा अत्यन्तै कमजोर थियो । भौतिक संरचना जीर्ण हुनुका साथै विद्यार्थीको उपस्थिति न्यून थियो । तर, वडा कार्यालयले विद्यालय व्यवस्थापन समितिसँग निरन्तर सहकार्य गरी विद्यालयहरूको भौतिक तथा प्राविधिक पूर्वाधारमा व्यापक सुधार ल्याएको छ ।अहिले वडाका केही सामुदायिक विद्यालयहरूमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ । सञ्चार र सुरक्षाका लागि इन्टरनेट र सीसीटीभी क्यामेरा जडान गरिएका छन् । ‘हिजो विद्यालयहरूमा बालबालिका पढ्न आउने वातावरण थिएन । आज शैक्षिक सामग्रीको उपलब्धता, भौतिक संरचनाको पुनर्निर्माण र पठनपाठनको वातावरण सुधारिएपछि विद्यालयहरू हराभरा देखिन थालेका छन् । हाम्रा दुई वटा सामुदायिक विद्यालयहरू अङ्ग्रेजी माध्यममा सञ्चालित छन् र उनीहरूले नमूना विद्यालयका रूपमा पहिचान बनाउँदै लगेका छन्,’ वडाध्यक्ष घिमिरेले भने ।

    वडाले घरदैलो कार्यक्रम र अभिभावक सचेतना अभियान सञ्चालन गरेर निजी विद्यालयमा भर्ना भएका विपन्न वर्गका बालबालिकाहरूलाई पुनः सामुदायिक विद्यालयमा ल्याउन सफल भएको वडा सदस्य लक्ष्मण सरदार र निजनारायण राजवंशीले बताए ।विराटनगर–१९ को सबैभन्दा जटिल र संवेदनशील समस्या भनेको सुकुमबासी बस्तीको व्यवस्थापन हो । वडामा करिब १ हजार घरधुरी सुकुमबासी परिवार छन्, जो वर्षौंदेखि आवास र जमिनको अधिकारबाट बञ्चित छन् ।यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारी जग्गालाई सदुपयोग गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएर भूमिहीनहरूलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने वडाध्यक्ष घिमिरेले बताए ।‘हामीसँग पर्याप्त सरकारी जग्गा छ । यसलाई क्याबिनेट निर्णय गराएर स्थानीयको भोगचलनका आधारमा जग्गा धनी प्रमाणपूर्जा दिलाउने र त्यहाँ एउटा सुविधासम्पन्न नमुना एकीकृत बस्ती बसाल्ने हाम्रो योजना छ । यस बस्तीभित्र खेल मैदान, विद्यालय, व्यवस्थित सडक र सरसफाइको पूर्ण प्रबन्ध हुनेछ । यस बृहत् संरचना निर्माणका लागि संघीय र प्रदेश सरकारबाट करिब ५० करोड रुपैयाँ बजेट आवश्यक पर्छ, जसका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ,’ घिमिरेले भने । यो योजना सफल भएमा सुकुमबासी समुदायको जीवनस्तरमा ऐतिहासिक सुधार आउने उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend