images

२०८३ आश्विन १६ गते

images
images
images

गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर

गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • ढोरपाटन (बागलुङ), ३१ जेठ । निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौँको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ । चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ ।

    images
    images

    किसानले भेडालाई खोरमा नभई आकाशमुनि खुला छाड्ने गर्थेँ । खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए । यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि चालु आवमा रु एक करोड १२ लाख विनियोजन गरेको थियो ।
     
    खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रियामार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो । भेडाका बच्चा खरिदका लागि दुईपटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उनको भनाइ छ।

    खोर र खानेपानी निर्माणका लागि रु ६२ लाख ९४ हजार ७५९ मा ठेक्का लगाई धमाधम काम भएको भन्दै रु १२ लाखमा औषधि खरिदसमेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत पुन बताएका छन् । खोर निर्माण र खानेपानीका लागि २०८३ जेठ ६ मा टिएएस इन्जिनियरिङ एन्ड कन्सट्रक्सनले जिम्मा पाएको उनको भनाइ छ । सम्पूर्ण काम असार मसान्तमा सकिनुपर्ने पुनले बताएका छन् ।

    images
    images

    प्रमुख प्रशासकीय अधिकृत पुनले भनेका छन् । “निसीखोलामा धेरै किसान पशुपालनमा आबद्ध हुनुहुन्छ, त्यसमध्ये वडा नं ५ र ६ का अधिकांश स्थानीय भेडापालन गर्दै आएका छन् । उनीहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले यस वर्षदेखि सानो प्रयास गरेको हो, खानेपानी व्यवस्थापन र खोर निर्माण भएका छन्, अब अरु काम पनि गाउँपालिकाले गर्ने योजनामा छ ।”

    टिएएस इन्जिनियरिङ एन्ड कन्सट्रक्सनका सञ्चालक रेशम अर्यालका अनुसार हालसम्म २२ वटा आधुनिक खोर निर्माण भइसकेका छन् भने खानेपानीको काम पनि अन्तिम चरणमा पुगेको छ । काठ, जस्तापाता र फलामको पोल प्रयोग गरेर खोर निर्माण गरिएको हो । सम्झौता भएको एक महिना नबित्दै ८५ प्रतिशत बढी काम सकिएको उनले बताएका छन् । गोठालालाई पायक पर्नेगरी निसीखोला–६ कोस्का र चोरबासमा खानेपानी व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।

    निसीखोला गाउँपालिका–६ का किसान भागीलाल घर्ती मगरले स्थानीय सरकारले किसानको समस्या समाधान गर्न थालेको बताएका छन् । भेडाबाख्रालाई विगतदेखि नै लेकमै पुगेर खोप दिने गरे पनि यसपालि खोर र खानेपानीको सुविधा दिएको उनको भनाइ छ । एउटा खोर बनाउँदा किसानको रु चार–पाँच लाख खर्च हुने भन्दै गाउँपालिकाले अनुदानमा बनाइदिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend