images

२०८३ आश्विन १६ गते

images
images
images

डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान

डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान

images
images
शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • राँझा (बाँके), ३० जेठ । बाँकेको बैजनाथ गाउँपालिकाका किसान परम्परागत ढक–तराजु छोडेर डिजिटल प्रविधिमैत्री बन्दै गएका छन् । 

    images
    images

    पहिलो चरणमा गाउँपालिकाभित्रका ७६ जना किसानलाई गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसान प्रविधिसँग जोडिएर श्रमको सही मूल्य पाउन थालेका छन् ।

    बैजनाथ गाउँपालिका–७ का किसान दिनेश चौधरीले वर्षौँदेखि परम्परागत ढक–तराजु प्रयोग गरेर आफ्नो खेतबारीको उब्जनी जोख्दा कहिले ढक खिइने त कहिले व्यापारीको आफ्नै तराजुमा शङ्का उपशङ्का हुने समस्या डिजिटल तराजुले अन्त्य गरेको बताउनुभयो ।  

    images
    images

    “अब तौलमा तलमाथि हुने डरै भएन, व्यापारीले पनि ठग्न पाएनन्, आफूलाई पनि ढुक्क भएको छ” उहाँले भन्नुभयो, “गाउँपालिकाले हामीजस्ता साना किसानको मर्का बुझिदिएर डिजिटल तराजु सहयोग गरेको जस्तो लागेको छ ।”

    ‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसानको कथा अहिले फेरिएको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका ठूला–ठूला कुरा भइरहँदा, किसानले उत्पादन गरेको वस्तुको सही तौल हुनु नै बजारको पहिलो र मुख्य सर्त ठानेर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३को बजेटमार्फत यो योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । 

    “किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने व्यक्ति वा व्यवसायी र किसान बिचको विश्वास बढाउने र परिणाम सही निकाल्ने काम यो डिजिटल तराजुले गर्नेछ”, अध्यक्ष शाहीले भन्नुभयो, “किसानको उत्पादनलाई बजारीकरण गर्न यसले थप मद्दत पु¥याउने हाम्रो विश्वास छ ।”

    गाउँपालिकाले किसानलाई प्रविधिसँग जोड्नका लागि कतिपय क्षेत्रमा ७० प्रतिशत त कतिपयमा पूर्णअनुदान दिँदै आएको गाउँपालिका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताउनुभयो । 

    उहाँका अनुसार, गाउँपालिकाभरिबाट कुल ९६ जना किसानले तराजुका लागि निवेदन दिएकोमा प्राप्त आवेदनमध्येबाट वास्तविक र आवश्यकताका आधारमा छनोट गरेर पहिलो चरणमा ७६ जना किसानलाई एक–एक थान डिजिटल तराजु वितरण गरिएको हो । ७० प्रतिशत अनुदान पाएपछि किसानले निकै कम लागतमा आधुनिक प्रविधि आफ्नो घर र खेतबारीसम्म पु¥याउन सफल भएका छन् ।

    डिजिटल तराजुले किसानलाई परम्परागत ढक–तराजु जस्तो दण्डी मार्ने वा तौलमा घटबढ हुने सम्भावना शून्य हुने, क्रेता र बिक्रेता दुवैले डिजिटल स्क्रिनमा सिधै तौल देख्न सक्ने भएकाले असमझदारी हट्ने र छिटो र छरितो तौल हुने हुँदा बजारमा सामान लैजाँदा समय बचत हुने उहाँको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend