images

२०८३ आश्विन १६ गते

images
images
images

बोरुङका किसान केरा खेतीबाट आत्मनिर्भर बन्दै

बोरुङका किसान केरा खेतीबाट आत्मनिर्भर बन्दै

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • इलाम । इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् ।  सबैजसो किसानले अन्नबाली फल्ने खेतबारी मासेर व्यावसायिक केरा खेती लगाएका छन् । प्रत्येक किसानले आफ्नो खेतबारीमा एक सयदेखि १ हजार बोटसम्म केरा रोपेका छन् । रोपिएका अधिकांश केराको बोटबाट घरी (फल) लाग्न सुरु भइसकेको छ ।

    images
    images

    व्यावसायिक रुपमा गरिएको केरा खेतीबाट यहाँका किसानले अन्नबालीको तुलनामा तेब्बर बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट उनीहरुले घरखर्च चलाउँदै आएका छन् । किसान टुपेन्द्र लिम्बूले केरा खेती आफ्नो आम्दानीको मुख्य स्रोत बनेको बताए । ५ वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका उनले केरा बिक्री गरेर वार्षिक दुईदेखि ३ लाखसम्म कमाउँदै आएकाे बताए । उनले करिब १० रोपनी क्षेत्रफलको जग्गामा १ हजार बोट केरा रोपेका छन् । उनको अगुवा ५०० बोट केराले आम्दानी दिन थालेको बताए ।

    “मैले अन्नबाली फल्ने खेतबारी मासेर करिब एक हजार बोट केरा खेती लगाएको छु, अगुवा आधा झ्याङबाट घरी (फल) उत्पादन हुन थालेको छ,” लिम्बूले भने, “प्रतिघरी रु ३०० देखि रु ७०० सम्ममा घरैबाट बिक्री हुन्छ, अन्नबालीभन्दा तेब्बर बढी आम्दानी हुने रहेछ ।” रोपेको ९ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केरा खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ ।         

    images
    images

    अर्का किसान मिलन राईले केरा बिक्रीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा खेती सुरु गरेका छन् । उनले करिब ५०० बोट केरा रोपेका छन् । जसमध्ये ३०० बोटबाट नियमित आम्दानी भइरहेको उनले बताए । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केरा खेती सुरु गरेको उहाँले बताउनुभयो । “अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम समेत खर्च गर्नु नपर्ने र आम्दानी समेत छिटो दिने भएकाले अन्नबाली उत्पादन हुने जग्गामा केरा खेती सुरु गरेको हुँ,” उनले भने, “बिक्री नहुने हो कि भन्ने चिन्ता पनि हुँदैन, व्यापारीहरु घरैमा आएर राम्रै दाम दिएर लैजान्छन् ।” तीन वर्षदेखि व्यावसायिक केरा खेतीमा लागेका राईले यस वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको सुनाए ।

    केरा खेतीबाट घरव्यवहार चलाउन रकम जुटाउनसमेत सहज भएको अर्का किसान तीर्थ साउदेनले बताए । ‘करिब पाँच रोपनी जग्गामा २०० बोट केरा रोपेको छु, केहीले आम्दानी दिन थालेको छ,” गत वर्षदेखि केरा खेती सुरु गरेका साउदेनले भने, “पहिलो वर्ष ८० हजार आम्दानी गरेको छु, यसले मलाई घरव्यवहार चलाउन सहज भएको छ ।” बोरुङका सबैजसो किसानहरुले खेतीयोग्य जमिन मासेर नै व्यावसायिक केरा खेती गर्दै आएका छन् । उनीहरुले चिनीचम्पा, धुस्रे, काबेली, झाजी, भण्डारी, झपरीलगायत अन्य स्थानीय प्रजातिका केरा खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको केरा बिक्री गर्न कुनै समस्या छैन । व्यापारीहरु घरैमा आएर खरिद गरी लजाने गरेका छन् । बगानबाटै व्यापारीले लैजाने गरेकाले किसानलाई बजारसम्म पु¥याउने झन्झट छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले केराको मूल्य समेत राम्रै पाएको वडा सदस्य विनोद साउदेनले बताए ।“यहाँका किसानले उत्पादन गरेको केरा बिक्रीका लागि कुनै समस्या छैन, व्यापारीहरु घरघरमा नै आउने गरेका छन्,” उनले भने, “यातायातको सुविधा विस्तार भएपछि किसानले समेत केराको राम्रै मूल्य पाएका छन् ।” 

    स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूह र माई नगरपालिका समेतको लगानीमा बोरुङ टोलसम्म सडक विस्तार भएपछि किसानलाई राहत मिलेको वडा सदस्य साउदेनको भनाइ छ । यहाँ उत्पादित केरा स्थानीय व्यापारीमार्फत झापाको विर्तामोड, काँकडभिट्टा, दमक, सुनसरीको धरान, मोरङको विराटनगरसहित काठमाडौँसम्म पुग्ने गरेको छ । कम मेहनत र थोरै लगानीमा सहजै आम्दानी लिन सकिने भएपछि दक्षिणी इलामका किसानहरु व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका हुन् । बाँझो रहेको जग्गा र तथा पाखासमेत सदुपयोग गर्दै किसानले व्यावसायिक केरा खेती विस्तार गरेका हुन् । उनीहरुले केरा खेती गरी लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लाको माई नगरपालिका बोरुङसहित दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सिङफेरे, मार्चेबुङ, सिमलटार, चुलाचुली गाउँपालिकाको तोरिबारी, साकफारालगायतका किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् ।       

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend