काठमाडौँ । चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा (०७७–सी४–१६१५) मा काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगोबापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ–१० कटारी बस्तीबाट पक्राउ गरिएको उनले बताए ।पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रवक्ता कार्कीले बताए ।
राजस्व दाखिला
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २ हजार ३३७ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा २१ लाख १८ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।जसअनुसार मादकपदार्थ सेवन गरेका ७५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय २७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३८ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय ४८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ७०, निषेधित क्षेत्रमा हर्न बजाउने २ सय ५०, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ३८, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४० र अन्य सवारी नियम पालना नगरेका १ हजार २५१ जनालाई कारबाही गरिएको हो ।




.gif)





