काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल आज आफ्नो जन्मदिन मनाइरहँदा सामाजिक सञ्जालदेखि चलचित्र क्षेत्रसम्म शुभकामनाको ओइरो लागेको छ। दशकौँदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहँदै आएका हमालले अभिनय, व्यक्तित्व र योगदानका माध्यमबाट नेपाली दर्शकमाझ विशेष स्थान बनाएका छन्।
यस अवसरमा लेखक तथा ‘फलाङ खाद्य शब्दकोश’का लेखक शिव न्यौपानेले हमालप्रति सम्मान व्यक्त गर्दै आफ्ना स्मरणहरू साझा गरेका छन्। उनले सन् २०१२ मा पत्रकारिताको प्रारम्भिक चरणमा हमालसँग अन्तर्वार्ता लिने अवसर पाएको उल्लेख गर्दै उक्त भेट आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण उपलब्धि बनेको बताएका छन्।
न्यौपानेका अनुसार लोकप्रियताको उच्च शिखरमा पुगेका हमालको सरलता, विनम्रता र संवादप्रतिको सम्मानले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको थियो। उनले हमाल केवल चलचित्रका नायक मात्र नभई समाजका लागि प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरेका छन्।
चलचित्र अभिनयसँगै नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा समेत हमालको महत्वपूर्ण योगदान रहेको बताउँदै न्यौपानेले उनको अनुशासित जीवनशैली, अध्ययनशील स्वभाव र सकारात्मक सोचले युवापुस्तालाई प्रेरित गर्दै आएको बताए।
जन्मदिनको अवसरमा हमालको सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको कामना गर्दै न्यौपानेले आगामी दिनमा पनि उनको अनुभव, व्यक्तित्व र प्रेरणाले नेपाली समाजलाई मार्गदर्शन गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।




.gif)





