गण्डकीः दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँ देखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सघंर्षलाई जारी राखे । उनीहरूले रित्तो थाल सहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारी पीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’ सहितका नारा लगाएका थिए ।
सूर्यदर्शन बचत पीडित सघंर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङ चोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताए । बचतकर्ताको बचत रकम फिर्ता नभए सम्म आन्दोलन जारी रहने उनको भनाइ छ । उनका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । “एक हजार ५१ सहकारीपीडितको जाहेरी सहित रु एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भने ।
प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उनले जानकारी दिए । त्यस मध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
यही कात्तिक २ गते पक्राउ परेका सभापति लामिछाने माथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी राई) सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछाने माथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारी पीडित सघंर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिव बहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी लगायत पूर्पक्षका लागि थुनामा छन् ।
राई सहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछाने सहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।




.gif)





