काठमाडौँ, ९ जेठ । महालेखा परीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदन अनुसार देशका महानगरपालिका मध्ये ललितपुर महानगरपालिका सबैभन्दा कम बेरुजु भएको महानगरपालिका बनेको छ।
आर्थिक वर्ष २०८१।८२ को लेखा परीक्षण अनुसार ललितपुर महानगरपालिकाको बेरुजु दर ०.४४ प्रतिशत मात्र रहेको छ। प्रतिवेदन अनुसार पोखरा महानगरपालिका को बेरुजु १.३९ प्रतिशत, विराटनगर महानगरपालिका को १.७३ प्रतिशत तथा काठमाडौँ महानगरपालिका को सबैभन्दा बढी २.१९ प्रतिशत बेरुजु देखिएको छ।
यस्तै भरतपुर महानगरपालिका र वीरगन्ज महानगरपालिका ले पूर्ण अभिलेख तथा स्रेस्ता पेस नगरेकाले लेखा परीक्षण हुन सकेन।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ले कानुनअनुसार स्रेस्ता व्यवस्थापन र वित्तीय अनुशासन कायम गरिएकाले बेरुजु न्यून भएको बताए।
महानगरपालिकाले लगातार तीन आर्थिक वर्षदेखि एक प्रतिशतभन्दा कम बेरुजु कायम राख्दै आएको छ। साथै करिब तीन अर्ब ५७ करोड रुपैयाँ पुरानो बेरुजु फस्र्योट गरी करिब एक अर्ब रुपैयाँमा झारिएको महानगरले जनाएको छ।




.gif)





