images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली...

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

images
images
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • काठमाडौ, ९ जेठ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।  यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।

    images
    images

    यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताएका छन्।

    images
    images

    यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिएका छन्।

    उनले भने, “सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।”

    राष्ट्रिय यातायात व्यवसायीक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिएका छन्। उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो ।

    उनले भने, “जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।”

    यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो । 

    कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

    यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ ।

    ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्युआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ ।

    यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजै “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३”को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ ।

    सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend