अष्ट्रेलिया । ७५ वर्षदेखि पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको नेपाली गहना बनाउने सीप अहिले अष्ट्रेलियाको मेलबर्नसम्म पुगेको छ। यो कथा हो भैरहवाबाट सुरु भएको पारिवारिक गहना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेका रत्न ज्वेलर्सका सञ्चालक रवि बिकको।
अष्ट्रेलियाका लागि अर्थसमाचारका संवाददाता शिव न्यौपानेसँगको कुराकानीमा रवि बिकले आफ्नो परिवारको तीन पुस्तादेखिको गहना व्यवसायको यात्राबारे बताएका छन्। उनका अनुसार, सात दशकअघि परिवारका अग्रजले नेपालमा शुद्ध र गुणस्तरीय गहना बनाउने उद्देश्यसहित व्यवसाय सुरु गरेका थिए। त्यही परम्परालाई निरन्तरता दिँदै अहिले उनीहरूले मेलबर्नमा नेपाली पहिचानसहितको गहना व्यवसाय सञ्चालन गरिरहेका छन्।
रवि बिक सन् २००९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेका थिए। सुरुवाती दिनमा उनले विभिन्न काम गर्दै शेफको रूपमा पनि काम गरे। तर, अन्ततः आफ्नो पारिवारिक सीप र पुर्खाको व्यवसायप्रतिको मोहले उनलाई फेरि गहना व्यवसायतर्फ फर्कायो।
त्यसपछि सन् २०२१ मा उनले मेलबर्नमा ‘रत्न ज्वेलर्स’ स्थापना गरे। अहिले उक्त ब्रान्डले नेपाली परम्परागत गहना निर्माण सीपलाई आधुनिक अष्ट्रेलियाली प्रविधिसँग संयोजन गर्दै व्यवसाय विस्तार गरिरहेको छ।
रवि बिकका अनुसार, रत्न ज्वेलर्सले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहककै उपस्थितिमा सुनको शुद्धता परीक्षण गरी १०० प्रतिशत प्रामाणिकताको ग्यारेन्टी दिने गरेको छ। “हामीसँग गहना खरिद गर्नु भनेको केवल सुन किन्नु मात्र होइन, तीन पुस्तादेखिको विश्वास र निष्ठामा आधारित विरासतमा लगानी गर्नु हो,” उनले भने।
उनले मेलबर्नस्थित आफ्नो स्टोरमा नेपाली समुदायसहित सबै ग्राहकलाई स्वागत गर्दै जीवनका विशेष क्षणहरू उत्कृष्ट गहनासँग मनाउन आग्रह गरेका छन्।




.gif)





