images

२०८३ आश्विन १७ गते

images
images
images

सुरक्षित सडकको पर्खाइमा जेफालेको पर्यटन

सुरक्षित सडकको पर्खाइमा जेफालेको पर्यटन

images
images
शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • उर्लाबारी, २ जेठ । मोरङ जिल्लाको नाम लिँदा प्रायः समथर भूभाग, धान फल्ने फाँट र तराईको दृश्य सम्झना आउँछ । तर जिल्लाकै उत्तरी भेगमा रहेका केही गाउँ अझै पनि सडक, स्वास्थ्य, शिक्षा र सुरक्षाजस्ता आधारभूत सेवाबाट वञ्चित छन् । सुगम जिल्लामै पर्ने जेफाले क्षेत्र अहिले पनि वर्षको आधा समय मात्रै सहज सडक पहुँचमा रहन्छ । यद्यपि अभाव र कठिनाइबीच पनि जेफाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

    images
    images

    प्राकृतिक सौन्दर्यले भरिएको जेफालेमा सामुदायिक होमस्टे सञ्चालनमा छ । यहाँ सुविधा सम्पन्न नौ वटा घर तयार पारिएका छन् । पर्यटकका लागि बसोवास, स्थानीय परिकार र संस्कृतिसँग परिचित गराउने व्यवस्था मिलाइएको छ । तर सहज सडक र सुरक्षा व्यवस्थाको अभावले पर्यटन प्रवर्द्धनमा चुनौती थपिएको स्थानीयको भनाइ छ ।

    धनकुटाको भेडेटार र नाम्जेलाई समेत टक्कर दिने प्राकृतिक दृश्य बोकेको जेफाले पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँ निर्माण गरिएको भ्यू टावरबाट साविक पूर्वाञ्चलका १६ वटै जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालका शृङ्खला स्पष्ट देखिन्छन् भने तलतिर तराईका फाँट, गाउँ र सहरका मनोरम दृश्यले पर्यटकलाई लोभ्याउँछन् ।

    images
    images

    समुद्री सतहबाट करिब एक हजार ९७० मिटर उचाइमा रहेको भ्यू टावरबाट सूर्योदय र सूर्यास्तको दृश्य विशेष आकर्षक मानिन्छ । तत्कालीन जिल्ला विकास समिति मोरङको ३६ लाख ५० हजार रुपैयाँ, धनकुटा जिविसको ५ लाख रुपैयाँ, विराट पर्यटन केन्द्र काँकडभिट्टाको २१ लाख रुपैयाँ तथा स्थानीयको करिब ८ लाख रुपैयाँ बराबरको जनश्रमदानसहित करिब ७० लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण गरिएको हो ।

    सिंहदेवीको बिहीबारे बजारबाट करिब तीन सय मिटर उत्तरतर्फ पुगेर एक हजार ४९ वटा सिँढी चढेपछि भ्यू टावर पुगिन्छ । जेफाले पर्यटन विकास समितिका सचिव भीम ठकुरीका अनुसार भ्यू टावर निर्माणपछि सूर्योदय र सूर्यास्त हेर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको खोर्सानेबाट करिब ३६ किलोमिटर उत्तरमा रहेको जेफालेको मौसम पनि विशेष छ । यहाँ छिनछिनमै कुहिरो लाग्ने, घाम लाग्ने र फेरि पानी पर्ने अवस्था देखिन्छ । वर्षभरि चिसो रहने मौसम नै जेफालेको मुख्य आकर्षण मानिन्छ ।

    भ्यू टावरको दक्षिण–पश्चिममा रहेको पाथिभरा देवी मन्दिरले धार्मिक पर्यटकलाई समेत आकर्षित गरेको छ । वरपरका जङ्गलमा मृग, हरिण, बँदेल, खरायो र लोखर्के जस्ता वन्यजन्तु पनि देख्न सकिन्छ । सामुदायिक वनले शिकारमा रोक लगाएपछि वन्यजन्तुको सङ्ख्या बढेको स्थानीय बताउँछन् ।

    जेफालेको आकर्षण केवल हिमाल र भ्यू टावरमा सीमित छैन । शान्त वातावरण, हरियाली जङ्गल, जिल्लाकै एक मात्र मातृभूमि चिया बगान तथा अदुवा, अलैँची, अम्लिसो र तेजपातले भरिएका डाँडाले यस क्षेत्रलाई थप आकर्षक बनाएका छन् ।

    स्थानीय लिलाबहादुर लिम्बूका अनुसार सुरुआती चरणमा केही विकासका काम भए पनि पछिल्लो समय उल्लेख्य प्रगति हुन सकेको छैन । सुनसरी, मोरङ र धनकुटाको चौबिसे क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गर्ने उद्देश्यले यहाँ पर्यटन सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।

    जेफालेका होमस्टेमा पाहुनालाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाइन्छ भने हुर्रा नाचमार्फत सांस्कृतिक प्रस्तुति पनि दिइन्छ । होमस्टे सञ्चालक उमा ठकुरीका अनुसार यहाँको प्राकृतिक सौन्दर्यको प्रभावकारी प्रचार गर्न सके विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने सम्भावना छ ।

    सामुदायिक होमस्टेमा एकैपटक एक सय जनासम्मलाई बस्न–खान व्यवस्था गर्न सकिने क्षमता रहेको सचिव भीम ठकुरी बताउँछन् । तर सहज सडक र सुरक्षा व्यवस्थाको अभावले पर्यटकलाई सास्ती हुने गरेको स्थानीय मनोज अधिकारीको भनाइ छ । “सरकारले प्रहरी चौकी र राम्रो सडक बनाइदिए जेफालेको पर्यटन आफैँ फस्टाउँथ्यो,” उनले भने ।

    २०७६ सालमा खोर्साने–केराबारी–सिंहदेवी सडक कालोपत्रेका लागि ठेक्का लागे पनि सात वर्ष बितिसक्दा निर्माण सम्पन्न हुन सकेको छैन । जोखिमपूर्ण यात्रा अझै जारी छ ।

    स्थानीयवासीले सामाजिक सुरक्षा भत्ता लिन अहिले २६ किलोमिटर दक्षिणको केराबारी बजार झर्नुपर्ने बाध्यता रहेको बताएका छन् । सार्वजनिक यातायात नियमित नचल्दा निजी सवारीमै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

    विशेषगरी ज्येष्ठ नागरिकले उकालो–ओरालो, धुलाम्मे सडक र भीडभाडयुक्त सवारीका कारण बढी सास्ती खेपिरहेका छन् । विकासको प्रतीक्षामा रहेको जेफाले र सिंहदेवी क्षेत्रका बासिन्दाले सहज सडक र आधारभूत सेवाको माग गरेका छन् ।तस्बिरः हरिप्रसाद कोइराला

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend