काठमाडौँ, २ जेठ । यतिबेला काठमाडौंको कमलपोखरी ज्याकराण्डा फूलले ढकमक्क सजिएको छ । पोखरी किनारमा फुलेका बैजनी रंगका ज्याकराण्डा फूलले कमलपोखरीको सौन्दर्य झन् आकर्षक बनेपछि यहाँ घुम्न आउने र फोटो–भिडियो खिच्नेको भीड लाग्न थालेको छ ।
वैशाख सुरु भएयता कमलपोखरीमा दैनिक सयौं मानिस पुग्ने गरेका छन् । विशेषगरी युवायुवतीहरू साथीभाइसँग घुम्न, फोटो तथा भिडियो बनाउन र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्न यहाँ पुग्ने गरेका छन् ।
ललितपुरकी राधिका सापकोटा र नारायणथानकी रविना कट्टेल पनि हरेक वर्ष ज्याकराण्डा फुल्ने मौसममा कमलपोखरी आउने गरेको बताउँछन् । उनीहरू साथीहरूसँग पोखरी घुम्दै तस्बिर खिच्न व्यस्त देखिन्थे । “साथीसँग पोखरी घुम्दा छुट्टै रमाइलो हुन्छ,” राधिकाले भनिन् ।
भक्तपुरकी दिपिका शर्मा भने जापानिज पोशाकमा सजिएर पेशागत फोटोग्राफरसहित भिडियो र फोटो खिचाउन पुगेकी थिइन् । सामाजिक सञ्जालमा कमलपोखरीको दृश्य देखेपछि आफू पनि आकर्षित भएर आएको उनले बताइन् । भिडियो तथा फोटो सुटका लागि पोशाक र क्यामेरा दुवै भाडामा लिएको उनको भनाइ थियो ।
कमलपोखरीमा युवायुवती मात्र होइन, वृद्धवृद्धा, बालबालिका र विद्यार्थीहरू पनि आराम गर्न तथा समय बिताउन पुग्ने गरेका छन् । झापाकी नकु लिम्बू पोखरी किनारमै पुस्तक पढ्दै भेटिइन् । इन्स्टाग्राममा देखिएको दृश्यले आकर्षित गरेपछि आफू यहाँ पुगेको उनले बताइन् । “पोखरी शान्त र सफा छ, वरिपरि फूल फुलेको दृश्य निकै आनन्ददायी लाग्यो,” उनले भनिन् ।
सामाजिक सञ्जालमा भिडियो देखेपछि काँडाघारीबाट पुगेका रमिला र राधिका खड्गाले पनि फोटो खिच्नकै लागि कमलपोखरी आएको बताए । नक्सालकी उर्मिला श्रेष्ठले भने साथीभेटका लागि कमलपोखरी रोजेको बताइन् । उनका अनुसार शान्त र हरियाली वातावरणले भेटघाटलाई अझ रमाइलो बनाएको छ ।
पोखरी क्षेत्रमा यतिबेला पेशागत फोटोग्राफरहरूको पनि बाक्लो उपस्थिति देखिन्छ । फोटो तथा भिडियो खिचाएबापत फोटोग्राफरहरूले शुल्क लिने गरेका छन्।
कमलपोखरी हेरचाह तथा सुरक्षामा खटिएका कर्मचारीका अनुसार वैशाखदेखि जेठ दोस्रो सातासम्म यहाँ घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गर्छ । बिदाका दिन हजारौं मानिस पुग्ने भएकाले काठमाडौं महानगरपालिका वडा नम्बर १ ले सफाइ कर्मचारी र नगर प्रहरी परिचालन गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कमलपोखरी २०७४ सालअघि अहिलेको जस्तो व्यवस्थित थिएन । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पोखरी पुनर्निर्माण गरिएको थियो भने आर्थिक वर्ष २०८०।८१ मा थप सुधार गरिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार दक्षिणतर्फको क्षेत्र विस्तार गरिएपछि पोखरी अझ फराकिलो र आकर्षक बनेको हो ।




.gif)





