images

२०८३ आश्विन १७ गते

images
images
images

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • बागलुङ । कुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ । बर्सेनि पर्यटकको आगमन बढ्दै जाँदा यहाँ होटल, गेष्टहाउस तथा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्नेक्रम तीव्र बनेको छ।नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटन उपत्यकामा पछिल्लो समय निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्कअनुसार हाल ढोरपाटन क्षेत्रमा ३९ वटा निजी होटल, होमस्टे तथा गेष्टहाउस सञ्चालनमा रहेका छन् । ती होटल तथा घरबासमा साधारण र विशिष्ट गरी कुल २४० कोठा क्षमता रहेको छ । पर्यटक आगमन बढेसँगै स्थानीयवासीले घरबास सञ्चालनलाई आयआर्जनको माध्यम बनाएका छन् ।

    images
    images

    पाखाथर सामुदायिक घरबासका अध्यक्ष पुनम बुढामगरले पाखाथर क्षेत्रमा मात्रै १० वटा घरबास सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार पाखाथर घरबासमा एकैरातमा २०० पाहुनालाई राख्न सकिने क्षमता रहेको छ । “पहिले घरायसी काममै सीमित महिला अहिले घरबासमार्फत आत्मनिर्भर बन्न थालेका छन्”, बुढामगरले भने, “घरबासले गाउँमा आर्थिक गतिविधि बढाएको छ ।”ढोरपाटन नगरपालिका क्षेत्रका तल्लोचौर, पाखाथर, तिब्बतीयन क्याम्प, स्यालपाखे, एयरपोर्ट, बिजोरीखोला, माझचौर, उत्तरगङ्गा तथा नवी क्षेत्रमा होटल तथा होमस्टे सञ्चालनमा छन् । पर्यटकको चाप बढ्ने मौसममा यी होटल तथा घरबास (होमस्टे) भरिभराउ हुने गरेको व्यवसायी बताउँछन्। गत वर्षमात्रै ढोरपाटन क्षेत्रमा २३ हजार ६९२ पर्यटक भित्रिएको तथ्याङ्क छ।ढोरपाटन क्षेत्रमा विकास भण्डारीद्वारा सञ्चालित उषा होमस्टे, चन्द्रकला अदैको पाखाथर होमस्टे, मिना पुनको पाखाथर होमस्टे, कोपिला अदैको पाखाथर होमस्टे, सुनिता अदेभण्डारीको होमस्टेलगायत साना तथा पारिवारिक घरबास सञ्चालनमा छन्।

    यस्तै, गङ्गा भण्डारीद्वारा सञ्चालित ढोरपाटन भ्याली होटल, राजेन्द्र विकको न्यू ढोरपाटन होटल, पुष्पा विकको धौलागिरि होटल, लालबहादुर पुनको वन्सुकी होटल, तेजेन्द्र तिब्बतीयन होटल, सोनाम गेष्टहाउस, मिलन होटल एण्ड रेष्टुरेन्ट, हिमालयन ढोरपाटन होमस्टे तथा उत्तरगङ्गा राम होटलजस्ता ठूला आवास व्यवसायले सेवा दिइरहेका छन्।तिब्बतीयन क्याम्प आसपासका क्षेत्रमा होमस्टे तथा गेष्टहाउस विस्तार भएका छन्। स्थानीय संस्कृति, वेषभूषा र परिकारलाई प्राथमिकता दिँदै पर्यटक आकर्षित गर्ने प्रयास भइरहेको घरबास सञ्चालक चन्दा अदैले बताए । “घाँस, दाउरा गर्ने र खेतबारीमै सीमित महिला घरबास सञ्चालनमा सक्रिय भएका छन्”, उनले भने, “दीगो पर्यटन परियोजनाअन्तर्गत १० वटा घरबासले रु दुई लाख रूपैयाँका दरले अनुदानसमेत पाएका छन्।”विशेषगरी ढोरपाटन सिकार आरक्ष, बुर्तिवाङ–ढोरपाटन सडक, ढोरबराह मन्दिर, उत्तरगङ्गा क्षेत्र तथा अन्य धार्मिक र प्राकृतिक गन्तव्य अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गर्दै होटल तथा पर्यटन व्यवसाय विस्तार भएको हो । ढोरपाटन पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको स्थानीय व्यवसायी बताउँछन्।

    images
    images

    स्थानीय व्यवसायीका अनुसार सडक पहुँच विस्तार, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तथा आन्तरिक पर्यटनको वृद्धिले ढोरपाटनमा पर्यटक आगमन बढाएको हो । विशेषगरी नयाँ वर्ष, दसैँ–तिहार, बर्खापछि तथा हिउँदको समयमा यहाँ पर्यटकको चहलपहल बढी हुने गरेको छ । हिमपात, प्राकृतिक दृश्यावलोकन, वन्यजन्तु तथा स्थानीय संस्कृति अवलोकन गर्न आउने पर्यटकका कारण होटल व्यवसाय फस्टाउँदै गएको हो।स्थानीय होटल व्यवसायी रामबहादुर घर्तीले पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी, विद्युत् तथा सञ्चार सेवामा सुधार गर्नसके ढोरपाटन पर्यटन क्षेत्र अझै विस्तार हुने बताए। “पर्यटनको ठूलो सम्भावना भए पनि अझै धेरै पूर्वाधार आवश्यक छन्”, उनले भने, “स्थानीय तथा प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र होटल व्यवसायलाई सहजीकरण गर्ने नीति ल्याउन जरुरी छ ।”प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमशृङ्खलाको दृश्यावलोकन, शिकार आरक्ष तथा धार्मिक–सांस्कृतिक सम्पदाका कारण ढोरपाटन गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पछिल्ला वर्षमा होटल तथा होमस्टे व्यवसाय विस्तार भएसँगै स्थानीयवासीको आयआर्जनमा टेवा पुगेको छ भने आलु, स्याउलगायत स्थानीय उत्पादनले बजार पाउन थालेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend