काठमाडौँ, २९ वैशाख । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता प्रक्रियालाई अघि बढाउँदै आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ।
समितिका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्य ले बचतकर्तालाई आवश्यक मागदाबी तथा विवरण समयमै पेश गर्न आग्रह गरेका छन्।
समितिका अनुसार बचत फिर्ता तथा सरकारी वा सार्वजनिक निकायसँग सम्बन्धित सेवा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। सेवाग्राहीको चापलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको कार्यालयले जनाएको छ।
त्यस्तै, गुनासो व्यवस्थापन, स्टेटमेन्ट उपलब्ध गराउने लगायतका सेवा भने दिउँसो ३ बजेपछि मात्रै सञ्चालन गरिनेछ। नयाँ समय व्यवस्थापनका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति समितिले क्षमायाचना समेत गरेको छ।
समितिले विभिन्न सेवा तथा प्रक्रियाका लागि जिम्मेवारीसमेत स्पष्ट पारेको जनाएको छ। स्टेटमेन्ट माग, निवेदन दर्ता, गुनासो सुनुवाइ, बचत फिर्ता सिफारिस, ऋण तथा धितोसम्बन्धी प्रक्रिया, कानुनी मुद्दा तथा सम्पत्ति रोक्का–फुकुवासम्मका कामका लागि सम्बन्धित शाखा प्रमुख, सदस्य सचिव तथा समितिका पदाधिकारीलाई जिम्मेवारी तोकिएको बताइएको छ।
समितिले बचतकर्तालाई आवश्यक कागजात सहित समयमै कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ।




.gif)





