काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो।
राष्ट्र बैंकले वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा वित्त कम्पनीहरूलाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर सहित आवेदन पेश गर्न आह्वान गरेको छ। इच्छुक संस्थाहरूले आगामी ३१ गतेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ।
केन्द्रीय बैंकका अनुसार कुल ६५ करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरूमा ५२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ९ करोड ७५ लाख रुपैयाँ तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ३ करोड २५ लाख रुपैयाँ लगानी गरिनेछ।
यस योजनामा सहभागी हुन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, बैंकले निर्धारण गरेको खुद तरल सम्पत्ति अनुपात तथा कर्जा–निक्षेप अनुपात कायम गरेको, पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद नाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
यदि कुनै संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त पनि राखिएको छ।




.gif)





