काठमाडौं, २७ वैशाख । नेपालको बैंकिङ प्रणालीमा निक्षेप तीव्र रूपमा बढिरहे पनि कर्जा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिने अवस्था देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा कुल निक्षेप ७९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५८ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निक्षेप ७१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको संयुक्त निक्षेप सात खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । कर्जातर्फ वाणिज्य बैंकहरूले ५२ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे ले निक्षेप बढ्नु सकारात्मक भए पनि त्यसअनुसार कर्जा विस्तार हुन नसक्नु बैंकिङ प्रणालीका लागि चुनौतीपूर्ण बनेको बताएका छन् । उनका अनुसार ब्याजदर घट्दै जाँदा पनि निजी क्षेत्रबाट नयाँ कर्जा माग उल्लेख्य रूपमा बढ्न सकेको छैन ।
हाल बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७३.१८ प्रतिशत रहेको छ, जुन नियामकीय सीमाभित्र रहेको मानिन्छ । यस्तै अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा झर्नुले प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गरेको छ ।
विशेषज्ञहरूका अनुसार निक्षेप बढ्दै जाँदा पनि कर्जा विस्तार सुस्त रहनुले अर्थतन्त्रमा माग पक्ष कमजोर रहेको देखाएको छ । पर्याप्त लगानीयोग्य स्रोत हुँदाहुँदै पनि गुणस्तरीय कर्जा माग अभावका कारण बैंकहरूको पुँजी परिचालन चुनौतीपूर्ण बन्दै गएको छ।




.gif)





