images

२०८३ आश्विन १७ गते

images
images
images

चक्रीय पदमार्गले घान्द्रुकमा नयाँ आकर्षण, मौलिकता जोगाउने चुनौती

चक्रीय पदमार्गले घान्द्रुकमा नयाँ आकर्षण, मौलिकता जोगाउने चुनौती

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • कास्की । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्द्रुकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । करिब दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् ।देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ लम्बाउन चक्रीय पदमार्ग बनाइएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँको बसपार्कदेखि पञ्चे, कोटगाउँ, बलाचे उद्यान, देउराली, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ब्रेज मेश्रम बराह मन्दिर, नेगो, चिया बगान, डाँडागाउँ हुँदै पुनः बसपार्क आएर पदमार्ग टुङ्गिन्छ ।

    images
    images

    चक्रीय पदमार्गको ६० प्रतिशत काम सकिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । समितिको पहलमा तीन वर्षअघि चक्रीय पदमार्ग निर्माण थालिएको थियो । “यस वर्ष नेपाल पर्यटन बोर्डको रु २० लाख बजेटबाट थप काम भइरहेको छ”, अध्यक्ष गुरुङले भने, “चक्रीय पदमार्ग निर्माणमा तीनवटै तहका सरकारको सहयोग छ, स्थानीय दाताहरु पनि जोडिएका छन् ।”घान्द्रुकको नयाँ गन्तव्यका रुपमा चक्रीय पदमार्गलाई स्थापित गर्ने र पर्यटकको बसाइ लम्बाउने उद्देश्यले पूर्वाधारका काम भइरहेको उनको भनाइ छ । घान्द्रुक गाउँको सिरानमाथि वनको बाटो हुँदै पदमार्ग अगाडि बढ्छ । पदमार्गका ठाउँठाउँमा उद्यान, विश्रामस्थल, चौतारी आदि निर्माण भइरहेको समितिले जनाएको छ । घान्द्रुकका पर्यटन व्यवसायी अमृत लामा गुरुङले घान्द्रुक आउने पर्यटकलाई छोटो दुरीको पदयात्रा (हाइकिङ)मा निस्कन चक्रीय पदमार्ग उत्तम रहेको बताए ।

    “घान्द्रुक बास बसेका पर्यटकहरु भोलिपल्ट बिहान सूर्योदयको अवलोकनसँगै चक्रीय पदमार्ग घुम्न सक्छन्, घान्द्रुक गाउँबाटभन्दा अझ सुन्दर दुश्यालोकन पदयात्राका क्रममा गर्न सकिन्छ, प्रकृतिमा रमाउँदै पदयात्रा गर्न सकिन्छ”, उनले भने । गुरुङ समुदायको आस्थाको धरोहरका रुपमा रहेको मेस्रम बराहको मन्दिर पनि यही मार्गमा पर्ने भएकाले धर्मप्रेमीहरु पनि पदयात्रामा आकर्षित भइरहेको उनको भनाइ छ ।पदमार्ग निर्माणमा हालसम्म झण्डै रु ५३ लाख खर्च भइसकेको समितिले जनाएको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरेर मौलिक शैलीमा पदमार्ग बनाइएको छ । पदमार्ग क्षेत्रमा बलाचे र बुद्ध गरी दुई उद्यान निर्माण पनि अगाडि बढाइएको छ । घान्द्रुकको पर्यटनमा चक्रीय पदमार्गले नयाँ आकर्षण थपेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले बताए ।घान्द्रुकमा पदमार्गसहित पर्यटकीय पूर्वाधार निर्माण, सामुदायिक सशक्तीकरणलगायत क्षेत्रमा ‘एक्याप’ले सघाउँदै आएको छ । कार्यालय प्रमुख उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये धेरै सङ्ख्यामा भारतीय पर्यटक रहेको बताए । अहिलेको याममा एकैदिनमा आठ सय ५६ जनासम्म विदेशी पर्यटक घान्द्रुकमा भित्रिएको उनको भनाइ छ ।

    images
    images

    “पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ”, उनले भने, “सडकको पहुँच विस्तारले पनि घान्द्रुकमा आन्तरिक पर्यटकको आउजाउ पछिल्लो समय बढेको हो ।” चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । तीसको दशकदेखि सुरु भएको घान्द्रुकको पर्यटनमा पछिल्लो समय गाउँको मौलिकता जोगाउने चुनौती थपिएको छ । चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो कि भन्ने पिरलो स्थानीय र पर्यटनकर्मीमाझ छ । प्रकृति र संस्कृतिको सङ्गम मानिने घान्द्रुक पहिलेको जस्तो छैन । जीवनशैली फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । सडकले पदमार्ग भत्केका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन पनि आधुनिकताको चेपुवामा परेको छ ।पर्यटकको आउजाउ बढेसँगै करोडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको छ । पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् । ३५ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ ।

    सयौँले रोजगारी पाएका छन् । पर्यटकीय याममा एकैदिनमा दुई÷तीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमा समेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच÷छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend