जनकपुर, २१ बैशाख । मधेश प्रदेशको धार्मिक तथा पर्यटकीय केन्द्र जनकपुरधाममा पहिलो पाँचतारे होटल निर्माण सुरु भएको छ। चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा स्थापित एनआरएनएका पूर्वउपाध्यक्ष रामेश्वर शाह को अगुवाइमा करिब २ अर्ब रुपैयाँ लगानीमा उक्त परियोजना अघि बढाइएको हो।
मिथिला हस्पिटालिटी अन्तर्गत निर्माण हुने होटलको २०८३ वैशाख २१ गते मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले भूमि पूजन गरेका थिए। करिब साढे २ बिघा क्षेत्रफलमा फैलिने होटलको कुल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ।
होटलमा ८ विलासी सुइटसहित १२४ कोठा र ३७२ बेड रहनेछन्। परियोजना तीन वर्षभित्र सम्पन्न गरी २०८६ वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यस परियोजनामा ज्ञानेन्द्र प्रसाद ढुंगाना, काजी लामा, सुदीप कुमार चौधरी र उदयकान्त झा लगायतका लगानीकर्ताको सहभागिता रहेको छ।
होटलमा अन्तर्राष्ट्रिय स्तरका रेस्टुरेन्ट, क्यासिनो, रूफटप पूल बार, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट र एम्फीथिएटर जस्ता सुविधाहरू रहनेछन्। सञ्चालनपछि प्रत्यक्ष रूपमा करिब १५० जनालाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
यो परियोजनाले जनकी मन्दिर तथा रामायण सर्किटमा आउने धार्मिक पर्यटकलाई स्तरीय आवास सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ। होटल सञ्चालनमा आएपछि जनकपुर पाँचतारे सेवा प्रदान गर्ने मधेश प्रदेशकै पहिलो शहर बन्नेछ।




.gif)





