काठमाडौँ, २१ वैशाख । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारणसभा आज सोमबारदेखि सुरु भएको छ।
आज उद्घाटन तथा बन्द सत्र आयोजना गरिँदैछ भने भोलि निर्वाचन कार्यक्रम तय गरिएको छ। यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारणसभा अदालतको आदेशपछि वैशाख २१ र २२ गतेका लागि सारिएको हो।
उद्घाटन सत्र ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजना हुँदैछ भने निर्वाचन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा हुनेछ।
महासंघको विधानअनुसार साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष बन्नेछन्। नयाँ संशोधित विधानअनुसार श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ। यस अर्थमा श्रेष्ठ स्वतः अध्यक्ष बन्ने प्रावधान अन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति हुनेछन्।
यसपटक ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि १३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। देशभरका २ हजार १५३ मतदाताले निर्वाचनमा सहभागिता जनाउनेछन्।
विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। महासंघमा अब दुई जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ भने महिला सहभागिता सुनिश्चित गर्न थप एक महिला उपाध्यक्ष पद समेत सिर्जना गरिएको छ।




.gif)





